दशैंको बेला लिङगे पिङ लगाउने चलनको ठाउँमा दुर्गा पूजाका लागि अस्थाथी मन्दिर बनाउने चलन बढेको छ । शहरीकरण बढेका ठाउँहरुमा दशैंको मौलिक नेपालपन हराउँदै गएको यसबाट पनि देखिन्छ । दशैंको रमाइलो सन्देश दिने पिङ अब फेसबुकको शुभकामनाका फोटोमा सीमित हुने सम्भावना छ ।

306103306_5370113243036404_8912777836655107518_n 1

धरानमा यसपाली पनि सार्वजनिक दुर्गा पूजाका लागि भव्य अस्थायी मन्दिर बनेका छन् । धरान–१ नवदुर्गा पूजा समारोह समितिका अध्यक्ष सिताराम आचार्यका अनुसार टेलिकम चौकमा निर्मित अस्थायी दुर्गा मन्दिरको कुल खर्च ५ लाख रुपया भन्दा बडी हुनेछ । मन्दिरको पण्डाल मात्र १ लाख ६० हजार रुपयामा बनेको छ । त्यस भित्र प्रतिष्ठा गरिएका दुर्गा भवानीको मूर्ति बनाउन ६० हजार रुपया खर्च भएको छ । धरानमा धरान(२ भागवत रोड र धरान–९ आचार्य लाइनमा पनि भव्य अस्थायी दुर्गा मन्दिर बनेका छन् । आचार्यका अनुसार यी तिन धरानका ठूला मन्दिरहरु हुन् । दुर्गा पूजाका लागि सबै मन्दिरहरुमा ५ लाख रुपया भन्दा धेरै खर्च हुने छन् । यस बाहेक अरु साना तिना दुर्गा पूजाहरु पनि हुँदै आएको छ । केही वर्षअघि सम्म दशैंको बेला धरानमा लिङगो पिङ लगाउने चलन विध्यमान थियो । कुनै बेला धरानका पब्लिक हाइस्कुल,हात्तिसार डाँडा,विजयपुर लगायत दर्जन ठाउँमा लिङगे पिङ लगाइन्थ्यो । दशैंको रौनक त्यसैमा देखिन्थ्यो । तर लाखौं रुपया खर्च गरेर अस्थायी पण्डालको मन्दिर बनाउने चलनले लिङगे पिङको मौलिकता समाप्त प्रायः बनाएको छ ।

अस्थायी मन्दिर बनाएर सार्वजनिक दुर्गा पूजा आयोजना गर्ने चलन भारतबाट भित्रिएको हो ।दुर्गा पूजा गरिएपनि त्यहाँ नेपाली संस्कृति जस्तो दशैं पर्व भने मनाएको पाइन्न । नेपाल मन्दिरै मन्दिरको देश हो । धरान नेपालको शक्ति पिठहरु मध्ये एक दन्तकाली भवानीको मन्दिर भएको ऐतिहासीक धार्मिक नगर हो । तथापी दशैंका बेला अस्थायी मन्दिरहरु बनाउने चलन भने बढेको छ ।

दशैंको मौलिकता देखिने लिङगे पिङ हराउँदै गएकोमा दुर्गा पूजा समितिका अध्यक्ष आचार्य आफै पनि चिन्तित छन् । तर, खर्च ठूलो भएपनि पण्डालको मन्दिर बनाउन सहज, लिङगो पिङ लगाउने कठिन भएको उहाँको भनाई छ । शहरीकरणको कारण धरानमा पिङको लागि उपयुक्त ठाउँ पाइदैन् । सबै भन्दा मुख्य कुरा पिङ झुण्ड्याउने लद्ध्ठा पाउन गाह्रो भएको उहाँको भनाई छ । तैपनि मौलिकता जोगाउन अर्को साल भने कुनै ठाउँमा लिङगे पिङ लगाइछाड्ने उहाँले प्रतिबद्धता जनाएका छन् । हेरौं धरामा अर्को साल चै लिङगे पिङ देखिने हो होइन्......

                                                                                                             धरानका वरिष्ठ पत्रकार हर्ष सुव्वाको सामाजिक सञ्जालबाट साभार