धरान /धरानस्थित पेन्सन वितरण कार्यालयले शनिवार आफ्नै हाताभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
भारतीय राजदूतावास अन्तर्गतको पेन्सन वितरण कार्यालयले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चुलिदै गएको रगत अभावको परिपूर्ति गरी थोरै भएपनि विरामीलाई सहज होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा २ सय ८३ पिन्ट रगत संकलन भएको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताए । उनले भने–‘हामीले मानवीय सेवा अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरेका हौ, भारतको आजादीको अमृत महोत्सव अन्तर्गतकै कार्यक्रम यो कार्यक्रम हो, भारत स्वतन्त्र भएको ७५ औं बर्ष पुगेको अवसरमा २०२३ सम्म आजादीका अमृत महोत्सव मनाउदै आएका हौं
रक्तदान कार्यक्रममा सहभागी हुन प्रदेश १ का भूतपूर्व भारतीय सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाहरुको सहभागिता रहकेो थियो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको संयोकत्वमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा रेडक्रस सुनसरीका सभापति उमेश थापा, प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा विक्रमप्रसाद श्रेष्ठ लगायत प्रतिष्ठानका चिकित्सक, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
गत बर्ष पनि पेन्सन वितरण कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा २ सय २ पिन्ट रगत संकलन भएको थियो ।