धरान / प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रुपमा रहेको धरान उपमहानगरपालिक वडा नं. १४ को विजयपुरमा अवस्थित श्री पिण्डेश्वर  विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ विहानको शुभमुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राणप्रतिष्ठा गरी समुद्घाटन गरिएको छ । 

विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाता महानुभावहरुको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो । गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर श्री तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो ।

2 2

यही माघ ९ गतेका दिन  पिण्डेश्वर विद्यापीठमा आयोजित प्राणप्रतिष्ठा तथा दाताहरुको सम्मानमा आयोजित कार्यक्रमका बीच धरान उपममहानगरपालिका वडा नं १४ का वडाध्यक्ष श्री कृष्णप्रसाद भट्टराईले मन्दिरको उद्घाटन गरेका थिए । 

उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्नुहुने दाता महानुभावहरुलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको थियो । मन्दिर निर्माणमा धरान उपमहानगरपालिका, धरान उपमहानगरपालिका  १४ नं.वडा कार्यालय, प्रा.डा. टंकप्रसाद न्यौपाने, रम्भादेवी कर्माचार्य, सरला कायस्थ, पितरुमल अग्रवाल, प्रा.नारायणदत्त पौडेल, विद्यापीठका पूर्वविद्यार्थीहरु लगायत विभिन्न संघसंस्था, व्यवसायी र समाजसेवी महानुभावहरुको सहयोग रहेको थियो ।

मन्दिरमा राखिएको सरस्वतीको मूर्ति विद्यापीठका पूर्वविद्यार्थी फणीन्द्र तिम्सिनाले तथा गणेशको मूर्ति देवेन्द्र पौडेलले एवम् हनुमानको मूर्ति गजानन्द दीक्षितले सहयोग स्वरुप उपलब्ध गराएका थिए । विभिन्न दाताहरुले मन्दिरको गजूर, कलात्मक ढोका, घण्ट, पूजाका सामग्री आदि पनि सहयोग गरेका थिए । 

उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै खतिवडाले विद्यापीठको भैतिक र शैक्षिक उन्नयनमा आफ्नो सदैव सहयोग रहने बताउँदै दातको सहयोगमा मन्दिरको निर्माण सम्पन्न भएकोमा  प्रसन्नता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं.१४ का वडाध्यक्ष श्री कृष्णप्रसाद भट्टराईले विद्यापीठको चौतर्फी विकासमा वडा कार्यालयको सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । ने.सं.वि. योजना महाशाखा प्रमुख श्री सुरजकुमार लामाले विद्यापीठको भौतिक तथा शैक्षिक उन्नयनमा सहयोग रहने बताउँदै शुभकामना दिए ।

कार्यक्रमको सभापतित्व विद्यापीठका प्रचार्य काशीनाथ पौडेलले गरेका थिए भने भेषबहादुर निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सहप्रा.डा. गुरुप्रसाद कोइरालाले गरेका थिए ।