मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ । 

विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गरेका छन् । सो अवसरमा बोल्दै  मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको विकास हुने दाबी गरे । 

विद्यालयमा खेलकुदको विकास र राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीहरु सीप सिकेर सहभागी हुन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको खतिवडाले बताए । सो अवसरमा मेयर कोइरालाले तालिमका प्रशिक्षक र सहभागीहरुलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए ।

तालिममा सहभागी शिक्षकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण दिनेछन् । तालिममा महानगर क्षेत्रभित्र सञ्चालित २४ विद्यालयका ३० जना शिक्षक र कर्मचारी सहभागी भएका थिए । समापन समारोहमा जिल्ला खेलकुद प्रमुख राजन पोखरेल, प्रशिक्षकका तर्फबाट उपेन्द्र यादव, सहभागीका तर्फबाट फडिन्द्र वस्तीले आ–आफ्ना विचार राख्नु भएको थियो ।