संखुवासभा / एक नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ ।

संखुवासभाको सदरमुकाम खाँदबारी शनिवार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार शिल्ड प्रदान गरिएको थियो भने उपविजेता चित्त बुझाएकोे भोजपुरले ५५ हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाका टिम सहभागी भएको आयोजक सूर्य माविले जनायो। विजयी टिमलाई भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गरे ।

रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०५८ सालमा जिल्लास्तरीय, २०७१ सालमा पूर्वाञ्चलस्तरीय हुँदै २०७४ सालमा प्रदेश १ स्तरीय भएको थियो। खेलकै माध्यमबाट विकृति विसंगति हटाउँदै खेल क्षेत्रबाट संखुवासभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।