धरान  / शनिबार महाशिवरात्री पर्व । हिन्दुहरुको प्रमुख चाडको रुपमा यस पर्वलाई लिने गरेको छ । फाल्गुण कृष्ण चतुदर्शीका दिन भनाइने यो पर्व शिवको उत्पत्ति भएको रातको नामबाट नामकरण भएको मानिन्छ । कालरात्री, मोहारात्री, सुखरात्री र शिवरात्री मध्ये एक पवित्र पर्वको रुपमा शिवरात्रीको वर्णन पुराणमा वर्णन गरिएको पाइएको छ ।

धर्म र आस्थाप्रति सर्वसाधारणको चासो र रुचि बढेकै कारण यस्ता पर्वहरु सर्वसाधारणले रुचिका साथ मनाउने प्रचलन छ । यसै क्रममा धरानको पिण्डेश्वर मन्दिरमा समेत बुधबार अत्यधिक भीड रहेको थियो ।

महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान् शिवको फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन–दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।           

पिण्डेश्वरका पण्डित विजय दीक्षितले ब्रम्हले चन्द्ररुपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव र पार्वतीको विवाहको दिन फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने गरिन्छ । धर्मकै आस्था बोकेर सर्वसाधारण प्रत्येक वर्ष मन्दिरमा आउने गरेको उनी बताउँछन् ।

उनका अनुसार यस पर्वका दिन उपवास गरी “ॐ नमः शिवाय“ मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास समेत रहेको उनको भनाई थियो । हुन त चाडपर्वको प्रचारमा पिण्डेश्वर बाबाधाम समितिले  विगतदेखि नै प्रचार गर्दै आएको छ ।

विगतकै जस्तो भक्तजन आएको दाबी गर्दे आएको समितिले केही समय अगाडि शिवरात्रीको प्रचारप्रसार अभियान नै चलाएको बताएको छ । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले प्रदेश १ को शिव मन्दिरमध्ये पिण्डेश्वर मन्दिरलाई मानिने गरिएको छ । यस मन्दिरको महिमाको विषयमा विभिन्न ठाउँमा गएर प्रचार प्रसार गरेको बताए । उनले भने–‘शिवरात्री आउनु भन्दा केही दिन अगाडि हामीले पूर्वका विभिन्न स्थानमा प्रचार प्रसार गरेका थियाँैै, प्रचारका क्रममा हामी पूर्वका विभिन्न स्थानमा पुगेका थियाै ।’

प्रत्येक वर्ष यो मन्दिरमा सर्वसाधारणको भीडसँगै शन्त महासन्तको समेत अत्यधिक उपस्थित हुने गरेको छ । तर यस वर्ष भने साधु सन्त कम आएको स्वयम् साधुसन्तहरु नै बताउँछन् । विगत ९ वर्षदेखि पिण्डेश्वर मन्दिर प्राङ्गणमा साधु सन्तको रुपमा बस्दै आएकी राधा माताले यो वर्ष विगतको भन्दा कम साधुसन्त आएको बताइन् । उनले भनिन्–‘सबै भन्दा धेरै काठमाण्डौको शिवालयमा साधुसन्त हुन्छन्, त्यसपछि पूर्वको धरानमै हो तर यस वर्ष भने धेरै कमको उपस्थिति देखियो ।’

कोरोना सङ्क्रमणपछिको यो दोस्रो शिवरात्री पर्व हो । विस्तारै सहज बन्दै गएपछि मन्दिरमा पूजाआजा गर्न आउनेको सङ्ख्यामा पनि वृद्धि हुदै आएको छ । धार्मिक आस्था बोकेका सर्वसाधारणको आगमनमा समेत वृद्धि हुदै गएको बाबाधामम समितिले जनाएको छ । मुलुक सहजता उन्मुख बन्दै गएपछि विजयपुरका मठमन्दिरमा समेत चहलपहल बढ्दै गएको छ ।