धनकुटा / पछिल्लो समय जलवायु परिवर्तनका कारण धनकुटामा उत्पादित सुन्तलाको उत्पादनमा ह्रास आएको एक तथ्याङ्कले देखाएको छ । तथ्यांकले धनकुटा जिल्लाभरि सुन्तालाको उत्पादन ३५ प्रतिशत भन्दा बढीले घटेको जनाएको हो । 

यसै क्रममा धनकुटाको सहिदभूमि गाउँपालिकामा समेत बर्सेनी सुन्तला उत्पादन तथ्याङ्कले देखाएको छ । सहिदभूमि गाउँपालिकाको कृषि शाखाको तथ्याङ्क अनुसार यो वर्ष २ सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको छ । यसअघि गएको वर्ष ३ सय मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष १ सय मेट्रिक टनले उत्पादन घटेको शाखाले जनाएको छ । उत्पादन घटेसँगै आम्दानी समेत घटेको छ ।

यस वर्ष पालिकामा सुन्तला उत्पादनबाट ३ करोड रुपयाँ आम्दानी भएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले बताए । उनले भने–‘यो वर्ष यो पालिकाले सुन्तला उत्पादनबाट ३ करोड आम्दानी गरे, किसानहरुले यो वर्ष होलसेलमा प्रति किलो १५० रुपयाँले सुन्तला बिक्री गरेका छन् ।’

यस अघि २०७६/७७ मा पालिकामा ४ सय ५० मेट्रिकटन सुन्तला उत्पादनबाट ६ करोड ३० लाख र २०७७/७८ मा ४ सय मेट्रिकटन सुन्तला उत्पादनबाट ५ करोड ६० लाख आर्थिक आम्दानी भएको थियो । गत वर्ष ३ सय मेट्रिकटन सुन्तला उत्पादनबाट ४ करोड २० लाख आर्थिक आम्दानी भएको कृषि शाखा प्रमुख राईले जानकारी दिए । उनले भने–‘बर्सेनी उत्पादन घट्नुमा जलवायु परिवर्तन, रोग कीराको प्रकोप आदिका कारण हो, यसले बर्षेनी कृषकलाई समस्या बनाउँदै लगेको छ ।’

यो क्षेत्रमा उत्पादन भएको सुन्तलालाई एशियाकै गुलियो र रसिलो सुन्तलाको रुपमा लिने गरेको प्रमुख राई बताउँछन् ।  उनका अनुसार हाल त्यसक्षेत्रको सुन्तलाको वोट सुक्ने, फल झर्ने लगायगतका समस्याहरु देखिएका छन् । उनले भने–‘जल वायु परिवर्तनकै कारण उत्पादनको समय नपुग्दै बोट सक्ने, फल झर्ने लगायतका समस्याहरु देखिएका छन्, यसको समस्या समाधानमा चुनौति देखिएको छ ।’

कृषि शाखाका अनुसार पालिकामा ६ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिदै आएकोमा हाल २ सय ५० देखी ३ सय हेक्टरमा क्षेत्रफलमा मात्र खेती गरिदै आएको छ । समस्या समाधानका लागि पालिकाले सुन्तला अनुसन्धान केन्द्र पारि पात्लेसँग समन्वय गरेर ल्याव परिक्षण गर्ने काम भइरहेको प्रमुख राईले जानकारी दिए । उनले भने–‘यो गम्भीर समस्या हो, यसको समाधानमा सुन्तला अनुसन्धान केन्द्र पारिपात्लेसँग समन्वय गरेर ल्याव टेष्ट गर्ने काम गरिहेका छौं, समस्याको कारण पत्ता लगाउने काम भइरहेको छ ।’