काठमाडौं / आइसिसी विश्वकप लि–२ अन्तर्गत हालै भएको प्रतियोगिामा श्रृङ्खलाबद्ध जित निकाल्ने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले जनही दुई लाख दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हालै भएको त्रिदेशीय शृङ्खलाका विजेता खेलाडीलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

बिहीबार दिउँसो विजेता खेलाडीलाई बालुवाटारमा नै  बोलाएर प्रधानमन्त्रीले बधाई दिँदै पुरस्कारको घोषणा गरेका हुन् । 

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’ उनले भने–‘पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन ।’ उनले अब खेल देशका लागि भएको बताए ।

खेल अर्थतन्त्रको उत्थानका लागि भएको बताउँदै राष्ट्रिय प्रतिष्ठासाथै  कूटनीतिक उचाइका लागि पनि खेल आवश्यक भएको बताए । उनले भने–‘ खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।’

हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलामा नेपालले क्लीन स्वीप गरेको छ । नेपाली टोली अर्को साता यूएईमा हुने त्रिदेशीय शृङ्खलाका लागि फागुन १३ गते त्यसतर्फ प्रस्थान गर्दैछ ।