धरान / वागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टोली एभियर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको १४ औं मिनेटमा क्यामरुनका साँवा अलिले गरेको गोल नै निर्णायक भएको थियो । उनले प्रिन्सको पासमा हेड गोल गरेका थिए । १–० ले पछि परेको बागमती युवा क्लबले दोस्रो हाफमा क्यामरुनलाई  दबाबमा राखे पनि गोल गर्न भने सकेन । १ गोल भएपछि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर सिर्जना गर्न सकेनन् ।

gridart-20230226-211243763

दोस्रो हाफमा बाग्मतीका प्रशिक्षक रोजीत केसीले अनिल राना मगर र विजय घलानलाई मैदानमा प्रवेश गराएपछि बागमतीले खेलमा दबाब बढाएको थियो । दोस्रो हाफको १९ औ मिनेटमा बागमतीका राज भुषाल गोल गर्न चुके । डिबक्स भित्रबाट डिफेन्सलाई बिट गरेर प्रहार गरेको बल आकासिएको थियो ।

दोस्रो हाफको २३ औं मिनेटमा विजय घलानले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो । दोस्रो हाफको ३० औं मिनेटमा अनिल राना मगरले प्रहार गरेको पावरफुल सट क्यामरुनका  गोल किपर तासोच एलियनले पञ्च गरे, रिबाउण्डमा विजय घलान गोल गर्न चुके ।

खेलको म्यान अफ द म्याच वागमती युवा क्लबका आयुष राना घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।  सोमबारकोे खेल नेपाल पुलिस क्लब काठमाडौ र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा बीच खेल हुने आयोजकले जनाएको छ । 

आठ टिम सहभागी प्रतियोगितामा विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।