धरान / सन् २०२० मा ढाका लिगबाट ‘बंगलादेश च्याम्पियनसिप लिग’ मा छनोट भएको काउरन बजार प्रगति संघ (केबिपिएस) बंगलादेश, एन्फा मोरङसँग ३– १ गोलअन्तरले पराजित भएको छ । 

धरानमा जारी बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकर पेनाल्टी सुटआउटमा केबिपिएस पराजित भएको हो । लगातार नेपालका दुई अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा अन्तिम क्वाटर फाइनल खेलमा हार बेहोर्दै केबिपिएस घर फर्किएको छ ।

गत शनिबार प्रथम भद्रपुर झापा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा समेत अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली एपिएफसँग सडेन डेथमा पराजित भएको थियो । 

केबिपिएसका तर्फबाट पेनाल्टी सुटआउटमा जर्सी नम्बर ६ का खोका बाबुले गोल गर्दा सागर, साहिन र फोरिडको बललाई एन्फा मोरङका तर्फबाट म्यान अफ दी म्याच रमिजे गच्छदारले निश्फल बनाइदिएका थिए । 

मोरङ एन्फाका तर्फबाट धिरे बिस्टले पेनाल्टी ‘मिस्ड’ गर्दा मनिष धिमाल, सान याक्खा र सन्जय धिमालले उत्कृष्ट गोल गरेका थिए ।

332075396_607768311256582_480254995779683785_n

यस अघि केबिपिएस बंगलादेशले ५ वटा काउन्टर अट्याकलाई गोलको दिशा दिन सकेको थिएन भने ४ वटा फ्रिकिकसमेत सदुपयोग गर्न सकेको थिएन । पहिलो मिनेटमै जर्सी नम्बर ९ लगाएर मैदानमा उत्रिएका ग्लोरीको पासमा जर्सी नम्बर ११ का साहिनले गरेको ‘काउन्टर अट्याक’ फितलो सावित भएको थियो ।

खेलको आठौं मिनेटमा डिबक्सभित्रबाट ग्लोरीले गरेको प्रहार आकाशिएको थियो । दशौं मिनेटमा जर्सी नम्बर १६ का खेलाडी सागोरको फ्रिकिकलाई हेडरमार्फत गोल गर्ने अवसर पाएका ग्लोरीले सदुपयोग गर्न सकेका थिएनन् । पन्ध्रौं मिनेटमा साहिनले मिलाएको पासलाई प्रहार गरेका ग्लोरीले गोल गर्न सकेका थिएनन् । ३३ औं मिनेटमा पुनः डिबक्सभित्रबाट ग्लोरीले गरेको अट्याक डिफेन्सलाइनले क्लियर गरिदिएको थियो । 

खेलको ३६ औं मिनेटमा साहिनको उत्कृष्ट पासमा गोल एरिया छेउमै सद्दामले पाएको बलले गोलको दिशा लिन सकेको थिएन । तुलनात्मक रुपमा दोस्रो हाफमा लय गुमाएको केबिपिएसले समेत मोरङका लागि स्कोर गर्ने मौका दिएन । 

एन्फा मोरङले ७ वटा काउन्टर अट्याक गर्दा ३ वटा उत्कृष्ट फ्रिकिकलाई सदुपयोग गर्न सकेको थिएन । पहिलो मिनेटमै सन्जय धिमालको ‘वान भर्सेज वान मुभ’ निश्फल भएको थियो । १७ औं मिनेटमा गिल्सन गिरीको पासलाई डिबक्सभित्रबाट सागर बिकले बाहिर पठाइदिएका थिए । २१ मिनेटमा एन्फा मोरङले उपहार गोल पाउँदा रेफ्रीले ‘अफ साइड पोजिसन’ घोषणा गरिदिएका थिए ।

२५ औं मिनेटमा धिरे विष्टको पासलाई सागर बिकले गोलको दिशा दिन खोज्दा आकाशिएको थियो । ३८ औं मिनेटमा पाएको फ्रिकिक क्रसबारभन्दा थोरैमात्र माथि जाँदा कोमल खवास निराश देखिएका थिए ।

दोस्रो हाफमा मिहिनेत गर्ने प्रयास गरेको एन्फा मोरङले गोल गर्न सकेन । कोमल खवासले आठौं मिनेटमा डिबक्सभित्र पाएको बललाई बाहिर पठाए । सागर विकको काउन्टर अट्याक विपक्षी गोलरक्षक कोबिजले नियन्त्रणमा लिए । यस्तै ४२ औं मिनेटमा सन्जय धिमालको अट्याक समेत निश्फल भयो । 

केबिपिएसका तर्फबाट प्रतिक्रिया दिँदै प्रशिक्षक दुलाल सरदारले म्याच फिक्सिङको आरोप लगाए । आफ्ना टिममा रहेका अफ्रिकन खेलाडीहरुले एजेन्टको निर्देशनअनुसार राम्रो खेल प्रस्तुत नगरेको प्रशिक्षक सरदारको आरोप थियो । 

‘यो खेल हामीले जित्यौं भने क्यामरुनसँगै खेल खेल्नुपर्ने भएकाले उनीहरु हामीले जितेको हेर्न चाहँदैन थिए, तसर्थ अफ्रिकन खेलाडीले अपेक्षित खेल प्रदर्शन नगर्दा हामीले पराजय बेहोर्यौं,’ प्रशिक्षक सरदारले भने, ‘प्लेइङ सेटमा भएका खेलाडीले समेत खेल्न नमानेका कारण पनि म्याच फिक्सिङ गरिएको रहेछ भन्ने हाम्रो निश्कर्ष हो ।’

अफ्रिकन खेलाडीलाई नेपालमा खेलाउने एजेन्टहरुले निर्देशन दिएकै कारण आफ्नो प्लेइङ सेटमा भएका खेलाडीले खेल्न नमानेको स्पष्ट कारण बताएको प्रशिक्षक सरदारको आरोप छ । 

म्यान अफ दी म्याच गच्छदारलाई धरान फुटबल क्लबका अध्यक्ष किशोर राईलगायतले नगद १० हजार रुपैयाँ, मेडल र टिसर्ट प्रदान गरे ।

विजेता एन्फा मोरङले एभिनियर एफसी क्यामरुनसँग १८ फागुनमा दोस्रो सेमिफाइनल खेल खेल्ने छ । यस्तै बुधबार हुने पहिलो सेमिफाइनल खेल केएफटिसी झापा र युके एफसी इन्डियाबीच दिउँसो २ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ ।