दुहबी  / सुनसरीको दुहबी ८ स्थित सोनापुरको घना बस्तिकै छेउमा मापदण्ड  विपरीत उद्योग निर्माण कार्य भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सोनापुर, छाताबेली र बीरगाउँ स्थित पुरानो वस्तीको छेउमा उद्योग स्थापना गर्न खोजेको भन्दै स्थानीयहरुले बिरोध गरेका छन । 

बस्तीलाई छोएर उद्योग स्थापना गर्दा भोलिको दिनमा उद्योगबाट अत्यधिक धुलो धुवाँ ध्वनि प्रदूषण हुने मात्र हैन, उद्योगबाट निस्कने बिषादी रासायनिक पानी , धुवाँ, धुलोले बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा धेरै असर पर्न सक्ने भन्दै वातावरणीय प्रभाव मूल्यांकन(आइइइ) र स्थानीयहरुको मुचुल्का सार्वजनिक गर्न माग राख्दै तत्काल उद्योग निर्माणकार्य रोक्न सम्पूर्ण सरोकारवाला जनप्रतिनिध लगायतहरुसँग आग्रह समेत गरेका छन् । 

सो उद्योगले सुनसरी÷ मोरङ सिँचाइ आयोजनाको नाममा रहेको नहरको जग्गा मासेको भन्दै केही दिन अगाडी  दुहबी वडा नम्बर ८ को कार्यालयमा उजुरी समेत परेको थियो । किसानहरुका भनाई अनुसार सो उद्योग निर्माणका कारण खेत सिँचाइमा बाधा पुगेकोले उद्योग सञ्चालन भएपछि खेतीयोग्य जमीनको बालिनालीमा समेत असर पुग्न सक्ने बताउँछन् । 

हाल दुहबी वडा नम्बर ८ को कार्यालयले गिरिस लुनियाले निर्माण गर्दै गरेको  अरिहन्त इन्फ्रटक्चर उद्योगलाइ चार किल्ला र घरेलु विद्युतको सिफारिस मात्रै दिएको दुहबी ८ का वडाअध्यक्ष तारिचन्द्र सरदार बताउँछन । बैलैमा सरोकारवालाहरुले ध्यान नपुर्‍याउँदा दुहबी २ स्थित वस्ती छेउमा रहेको प्रिमियर स्टिल उद्योगको प्रदुषणका कारण पूरै बस्ती बारम्बार आन्दोलन गरिरहेको छ । केही सरोकारवालाहरुको गलत सिफारिसले गर्दा प्रिमियर स्टिल उद्योगमाथि स्थानीयहरुले गरेको मुद्दा सर्वोच्च  अदालत र अख्तियारमा विचाराधीन अवस्थामा रहेको बेला परापूर्वकालदेखिको छाताबेली र बिरगाउँ बस्तीबासीहरु बेलैमा सजग हुनुपर्ने जानकारहरु बताउँछन् । 

सुनसरी–मोरङ करिडोरमा उद्योग स्थापना सञ्चालन र निर्माण हुनु न्यायोचित र कानुन सम्मत भएपनि विकास समृद्धि र औद्योगिकरणको नाममा करिडोर भन्दा पुर्व पश्चिम उत्तर दक्षिणभित्र गाउँ बस्ती, सिँचाइ कुलो लगायत सामाजिक, सांस्कृतिक, जैविक, मानवीय बस्ती, पुरानो गाउँ थाँतथलोहरुलाई प्रभाव असर र बिस्थापित उठिवास र मानवको बाच्न पाउने अधिकारबाट बन्चित गरी वातावरणिय प्रभाव मुल्याङ्कन हचुवाको भरमा कागजी रूपमा गरी ठूला–ठूला उद्योगहरुको सहमति, स्वीकृति, सञ्चालन र निर्माण बन्द गर्नुपर्ने माग स्थानीयहरुले राखेका छन् ।