धरान /  भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड खस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । 

जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी निशान लिम्बूको पासमा म्यान अफ दी म्याच यमीले पहिलो गोल गरे । खेलको दोस्रो हाफको छैठौं मिनेटमा यमीको पासमा जर्सी नम्बर ११ का खेलाडी सुशील राईले दोस्रो गोल गरे । खेलको दोस्रो हाफको ४४ औं मिनेटमा युकेएफसीका जर्सी नम्बर १३ का खेलाडी रोशन भुजेलले केएफटिसी झापाका खेलाडी सुशील राईलाई डिबक्सभित्र फउल गर्दा पाएको पेनाल्टीमा निशान राईले गोल गरी टिमलाई ३ गोलको स्कोर प्रदान गरे । जारी खेलमा निशानको यो तेस्रो गोल हो । 

budha-subba-gold-cup-pic

युकेएफसीका तर्फबाट खेलको पहिलो हाफको ४५ औं मिनेटमा जर्सी नम्बर २ का खेलाडी प्रतीक लामाको पासमा जर्सी नम्बर ७ का खेलाडी हेमराज भुजेलले सान्त्वना गोल फर्काए । केएफटिसीका गोलरक्षक विवश चौधरीलाई ‘बिट’ गर्दै प्रतीकले दिएको पासमा हेमराजले आकर्षक ‘ब्याक हेडर’ मार्फत गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा लय लिन नसकेको युकेएफसीले दोस्रो हाफमा भने केही आकर्षक ‘मुभ’ बनाए पनि ‘स्कोर’ गर्नबाट चुक्यो । दोस्रो हाफको तेस्रो मिनेटमा प्रतीक लामाले दिएको पासलाई कप्तान राज राउतले  काउन्टर अट्याक गरे पनि नतिजा निश्फल रह्यो । 

दोस्रो हाफकै ११ औं मिनेटमा हेमराज भुजेलले दिएको पास जर्सी नम्बर ९ का खेलाडी सिद्धान्त छेत्रीले गोलको दिशा दिन खोज्दा विपक्षीले उनलाई फउल गरे । फउलपछि पाएको फ्रिकिकलाई जर्सी नम्बर १४ का खेलाडी सुब्रत्तो सोरेनले प्रहार गर्दा ‘फ्रिकिक वाल’ ले बचाउ गर्‍यो । 

दोस्रो हाफकै २४ औं मिनेटमा जर्सी नम्बर ३ का खेलाडी विशाल छेत्रीले दिएको पासमा सिद्धान्त छेत्रीले गरेको प्रहार आकाशिएको थियो । यस्तै दोस्रो हाफकै ३४ औं मिनेटमा जर्सी नम्बर १२ का खेलाडी सन्दीप लिम्बूले निकालेको पासलाई जर्सी नम्बर २० का खेलाडी गणेश लिम्बूले सही दिशा दिन नसक्दा बल बाहिरिएको थियो । 

विजेता केएफटिसीले पहिलो हाफमा गरेको केही ‘काउन्टर अट्याक’ ले पोस्टको दिशा लिन सकेको थिएन । जर्सी नम्बर २३ का खेलाडी निशान लिम्बूले पहिलो हाफमा पाएको दुई अवसरलाई गोलमा परिणत गर्न सकेनन् । दोस्रो हाफको १६ औं, २१ औं, २२ औं, २४ औं र ३६ औं मिनेटमा पाएका अवसरसमेत केएफटिसीका खेलाडी खेर फाले । दोस्रो हाफको ४१ औं मिनेटमा जर्सी नम्बर ९ का खेलाडी सुरेश कुमालको पासमा निशान लिम्बूले गरेको गोललाई निर्णायकले ‘अफसाइड’ घोषणा गरिदिए । 

‘पोस्ट म्याच कन्फरेन्स’ मा प्रतिक्रिया दिँदै युकेएफसीका प्रशिक्षक उर्गेन लामाले अपेक्षित खेल खेल्न नसकेको बताए । ‘खेलाडीको तालमेलको कमि देखियो, स्टाइकरको अलिकति विक भयो,’ प्रतिक्रिया दिँदै प्रशिक्षक लामाले भने, ‘खेल हो हारजित हुन्छ, केटाहरुले ठीकै खेल्यो ।’

यता केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले पहिलो हाफमा ‘ट्राइ’ गरेको ‘फर्मेशन’ले राम्रो खेल प्रदर्शन हुन नसकेको बताए । उनले ‘डिफेन्डर इन्जर्ड’ हुँदा झनै ‘प्रेसर’ बढेको बताए । ४–३–३ को ‘फर्मेसन’मा खेलेको पहिलो हाफमा ‘गेम लस्ट’ भएको प्रशिक्षक सुब्बाले प्रतिक्रिया दिए । ‘जब फर्मेसन चेन्ज गरेर ४–४–२ मा ल्याएपछि मेनपावर प्याक भयो, सजिलो भयो, अट्याकरको सङ्ख्या पनि बढ्यो र सक्सेस भयौँ ।’ प्रशिक्षक सुब्बाले भने । 

म्यान अफ दी म्याच केएफटिसीका यमीलाई आइएमईका प्रतिनिधि कुन्दन श्रेष्ठ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईलगायतले नगद १० हजार रुपैयाँ, मेडल र टिसर्ट प्रदान गरे ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार केबिपिएएस बंगलादेशलाई पराजित गरेको टिम ‘एन्फा मोरङ’ विरुद्ध बागमती युथ क्लब सर्लाहीलाई पराजित गरेको क्यामरुनी टोली ‘एभिनियर एफसी’ बीच हुनेछ ।