धरान /  धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।

सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो । 

एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन बोर्ड सदस्य कृष्ण शाह, पर्यटनविद् वासुदेव शाह, धरान उपमहानगरपालिकाका प्रतिनिधि र पर्यटन उद्यमीको सहभागिता रहेको थियो । 

‘पर्यटन क्षेत्रमा भएका समस्या, त्यसका समाधान र प्रवर्धनमा गोष्ठी केन्द्रित रहेको थियो’ बरालले भने, ‘त्यसबाहेक नयाँ पर्यटकीय स्टलको पहिचान र त्यसको प्रचारका विषयमा पनि अन्तरक्रिया भएको थियो ।’

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा यसअघि ‘स्वरोजगार तालिम’ सम्पन्न भइसकेको छ । 

एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार फागनु २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा अन्य विषयमा समेत गोष्ठी, कार्यशाला र तालिम सञ्चालन हुनेछ । एक्स्पो अवधिभित्रै धरानको खानेपानी समस्या समाधानको विषयमा समेत अन्तक्रिया कार्यक्रम हुने उनले बताए ।  फागुन ११ गतेबाट धरान रङ्गशालामा जारी एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल प्रदर्शनीमा राखिएका छन् ।