इलाम / १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ । 

आगामी २३ देखि २५ फागुनसम्म फाकफोकथुम गाउँपालिकाको सिँहदेवी माविको खेल मैदानमा हुने भएको हो । यस अघि इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । 

प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुनेछन् ।

एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम्  मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु संचालन हुनेछन् । जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल सञ्चालन हुनेछ । प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरी खेलाडी छनौट गरिसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका गरी नौ सयदेखि एक हजार जनाको उपस्थिती हुने अनुमान गरिएको बाँस्तोलाले बताए । प्रतियोगितामा सम्पूर्ण खेलको नतिजालाई एकीकृत गरी पालिकालाई विजेता तथा उपविजेता घोषणा गरिनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सफल बनाउन फाकफोकथुम गाउँपालिकाले व्यवस्थापनको काम गरिरहेको छ ।

खेलाडी र व्यवस्थापक टिमलाई व्यवस्थापनका लागि पालिकाले स्थानीय बस्तीहरुमा होमस्टेको अवधारणाअनुसार तयारी गरिरहेको छ । प्रतियोगितालाई लक्षित गरी बसोबास व्यवस्थापन गर्न गाउँपालिकाले स्थानीय एक सय घर तयारी गरेको छ ।

प्रतियोगिता संचालन गर्न करिब १६ लाख खर्च हुने भएपनि प्रतियोगिताका लागि प्रदेश सरकारबाट करिब चार लाख रुपैयाँ मात्र प्राप्त भएकाले अरुकै आशा गर्नुपरिरहेको अध्यक्ष बाँस्तोलाले बताए । बाँकी खर्च व्यवस्थापनका लागि सबै पालिकाहरुसँग सहयोग माग गरिएको उनले बताए ।