धरान /विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डाँै सातौँ संस्करणको राष्ट्रिय होराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेज धरानमाथी ४६ का बिरुद्ध ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

पुलिसलाई विजयी गराउन ब्यक्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद १ हजार ५ सय पाए । पुलिसले अब सेमिफाइनलमा आगामी बिहिबार आयोजक हराइजन क्लबसंग प्रतिष्पर्धा गर्नेछ । आयोजकले आइतबार भएको उद्धघाटन खेलमा ज्याकवट क्लब झापालाई ४४ का बिरुद्ध ७२ स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

मंगलबारको खेल डिफेण्डिंग च्याम्पियन तथा राष्टिय टिमका खेलाडीको बाहुल्यता रहेको टाइम्स क्लब काठमाण्डौ र बिराटनगर बास्केटबल एकेडेमीबीच हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार पाउनेछ । प्रतियोगितामा दुई विभागीय सहित ८ टिमको सहभागिता छ ।