धरान / संखुवासभाको पाँचखपन नगरपालिकाको ६ नं वडामा पर्ने वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । 

फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा बिहीबार समापन गरिएको हो ।

देवीको प्राणप्रतिष्ठा पण्डित खेमनाथ दाहाल नेतृत्वमा विधिवत् रुपमा गरिएको हो । प्राणप्रतिष्ठाको अघिल्लो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरिएको थियो भने जलवास गराइएको थियो । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।

सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गरेको कार्यक्रममा पाँचखपन नगरपालिका र नगर वाहिरका भक्तजनहरुको उपस्थिति रहेको थियो । सिद्धदेवी पाथिभरा माताको मन्दिर हालै सम्पन्न भएसँगै प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गरिएको संस्थाका देवराज पुरीले जानकारी दिए । उनले भने–‘पाथीभरा मन्दिरको प्राणप्रतिष्ठा भएको छ, अब संखुवासभाको वानामै दर्शन गर्न पाइने भएको छ ।’