मोरङ /  तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब  विजयी भएको छ ।  

विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा  झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई  १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । 

निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।

जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गोल गर्न चुके ।

सुनसरीको तर्फबाट सुशन लामा, विवेक राई, चन्दन मगर, धिरेन लिम्बु, धिरेन क्षेत्री, सुजन चौधरी, राकेश गुरूङ, सजन मगर, विवेक गुरूङले मात्र गोल गरेका थिए । सुनसरीका सुजित चौधरी  र सिजल राईले गोल गर्न असफल रहदा घर फर्किन बाध्य भयो । 

खेल सुरु भएको ११ औं मिनेटमा धव्रताराका आयुष श्रेष्ठले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमेको थियो ।

पहिलो हापसम्म अग्रता कायम गरेको धुव्रताराले दोस्रो हाफदेखि शान्तिनगरले आक्रामक खेल पस्कियो । खेल सुरू भएको ४४ मिनेटमा विष्णु श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए । सिजल राईले निकालिदिएको क्रस पास विष्णुले गोलमा परिणत गरेका थिए । 

दोस्रो हाफदेखि दबावमा राखेको शान्तिनगरका क्याप्टेन सुसन लामाले ६४ औं मिनेट गोल गरी दोब्बर बनाए । 

खेलको ८२ औं मिनेटमा धुव्रतारका प्रविण राईले गोल गरी खेल बराबरीमा ल्याए । डिबक्स भित्र शान्तिनगरका खेलाडीले डिबक्स भित्र फल गरेपछि धुव्रताराले पेलान्टी पाएको थियो । पेलान्टीमा राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच हुने खेलाडी झापाको प्रविण राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । म्यान अफ द म्याच हुने खेलाडीलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर १६ का वडाअध्यक्ष उद्धव भूजेलले वितरण गरेका थिए  । 

आइतबारको खेल द सेभेन स्टार फुटबल क्लब धनकुटा र प्रतिभा फुटबल क्लब गोलबजार सिराहाबीच हुनेछ । 

फागुन २७ देखि चैत ४ गते सम्म फुटबल प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।  

विजेताले २ लाख ११ हजार रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गर्नेछन् । उपबिजेताले १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।