धरान / ‘याक्थुङ’ समुदायको ‘यक्पुङ’ भित्र संघर्षरत एउटी अविवाहित नारी पात्रको कथालाई मौलिक सांस्कृतिक धरातलमा खिपेर पर्दामा उतारिएको चलचित्र निर्माणको घोषणा गरिएको छ  । 

पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको कथालाई चलचित्र ‘यक्पुङ’ ले भन्ने प्रयास गरेको कलाकार कुशल थलङले बताए  । 

मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै चलचित्रको छायाङ्कन समापन भई पोस्ट प्रोडक्सनको काम भइरहेको जानकारी गराइएको हो  । तेह्रथुमको साब्लामा ८० प्रतिशत र बसन्तपुरको चोलुङ पार्कमा २० प्रतिशत छायाङ्कन गरिएको चलचित्र ५० लाखको लागतमा निर्माण भएको निर्माण पक्षले जानकारी दिएको छ  ।

चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, मिराक लिम्बूलगायतले अभिनय गरेका छन्  । दिनेश माङ्मुको कथा निर्देशनमा तयार भएको चलचित्रमा विष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको छ  । चलचित्रको निर्माण नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीले गरेका छन् भने सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन्  । 

पोष्टप्रोडक्सनमा रहेको चलचित्र दशैं–तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षको भनाइ छ  । २०५५ सालमा निर्देशक नवीन सुब्बाको चलचित्र नुमाफुङले नेपाली सिने क्षेत्रमा ‘याक्थुङ’ (लिम्बू) सांस्कृतिक कथा पस्किएर नौलो आयाम र दिशा निर्देश गरेको थियो  । सोही सन्दर्भमा वरिष्ठ कलाकार, निर्देशक प्रेम सुब्बाले चलचित्र ’नुमाफुङ’ को चर्चा गरे  । उनले चलचित्र ‘यक्पुङ’ ले याक्थुङ बस्तीका पारम्परिक, सांस्कृतिक बिम्बहरुको उद्घाटन गर्न सफल हुने विश्वास व्यक्त गरे  । कोरोना सङ्क्रमणले थिलथिलो पारेको नेपाली चलचित्र क्षेत्रमाथि उठ्ने क्रममा पूर्वका मौलिक सांस्कृतिक चलचित्रले इटा थप्ने काम गरेको कलाकर्मीले विचार राखे  ।