सुनसरी / कोशी प्रदेशस्तरीय ह्वीलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५ औं अन्तराष्टिय ह्वीलचियर दिवशको अवसरमा अपांगता भएकाहरुको संस्था स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन् । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पूरा गरे ।

दोस्रो भएका प्रज्वल लिम्बुले २ मिटेट ४६ सेकेण्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गरेका थिए । 

 महिलातर्फ ३ मिनेट २७ सेकेण्डमा दूरी पुरा गरेकी जानुका तामाङ्ग प्रथम भइन् । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेण्डमा दूरी पुरा गरेकी केशरकुमारी आलेमगर तेस्रो भइन ।

प्रथम हुनेले नगद १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पुरस्कार पाए । विजेता तथा सहभागीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, उपाध्यक्ष जीनाजंग कार्की, समाजिक महाशाखा प्रमुख फणिन्द्र खत्री लगायतले पुरस्कार बितरण गरेका थिए । 

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, खेलकुद विकास बोर्डको सहकार्य तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका १ सय ५० जना अपांगता भएकाहरुको सहभागिता रहेको थियो ।