सुनसरी / 

ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले १३ औ संस्करणको कन्टोल इटहरी गोल्डकपमा सहज जीत हात पारेको छ । 

इटहरी रंगशालामा सोमबार सम्पन्न खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मच्छिन्द्रको जीतमा कप्तान अफिज ओलावालले ह्याटिक सहित ४ गोल गरे । अर्को गोल बिजय भुजेलले गरे । पहिलो गोल ३९ औ मिनेटमा गरेका ओलावालले ६१, ६६ र ८८ औ मिनेटमा गोल गर्दै आफ्नो गोल संख्या ४ पुर्याए । त्यसअघि बिजय भुजेलले ६४ औ मिनेट गोल गरेका थिए । 

    कञ्चनजंघाका अनिश राईले २ गोल गरेपनि हार टार्न सकेनन् । खेलको १५ औ मिनेटमा अतिश राईको पासमा अनिशले गोल गरेर अग्रता दिलाएका थिए । खेलमा ४ गोल गरेका मछिन्द्रका कप्तान ओलावाले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले दोश्रो रोजाइका खेलाडीहरुले समेत उत्कृष्ट खेल प्रर्दशन गरेको बताए ।

उनले सुरुवातमा गोल व्यहोर्न पुगेपनि कमब्याक जित निस्किएको बताए । टिमका महत्वपुर्ण सदस्यहरुमा राष्ट्रिय टोलीको क्याम्पमा भएको र बिमल घर्तीमगर लगायतका केही खेलाडीहरु घाइते भएकाले विश्राम दिइएको बताए । खेलाडीहरुको इन्जुरीका कारण टिमको प्रर्दशनमा तलमाथि भइरहेको उनले बताए । कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले खेलाडीहरुको गल्तीका कारण गोल व्यहोर्न पुगेको बताए ।

उनले पेनाल्टीमा गोल व्यहोरेपछि खेलाडीहरुको मनोबल गिरेर थप गोल हुन पुगेको बताए । काउन्टर अट्याकमा ३ गोल व्यहोर्न पुग्नु नै पराजयको मुख्य कारण भएको उनले बताए । मछिन्द्रले अब साबिक बिजेता सगरमाथा क्लब मोरंगसंग बुधबार सेमिफाइनलमा खेल्नेछ । सगरमाथा उद्धघाटन खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गदै सेमिफाइनल पुगिसकेको छ । मंगलबारको खेल बिभागीय टिम त्रिभुवन आर्मी र रोलिंग क्लब झापाबिच हुनेछ ।