धरान /  धरानका मेयर हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि वडाध्यक्षहरुले आन्दोलनका थप कार्यक्रम अघि बढाएका छन् । 

वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर नियमित कामकाज सुरु गरेका छन् । धरान उपमहानगरपालिकामा नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने  निर्णयहरु कार्यपालिका सदस्यको सहमतिबिना नगर्न, नगराउन धरान कार्यपालिकामा नेतृत्व गर्ने दलका नेताले कर्मचारीको ध्यानाकर्षण गराएका छन् । 

   मंगलबार धरान उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र उपमहानगरका सबै शाखालाई ध्यानाकर्षण विज्ञप्ति बुझाउँदै दलका नेतृत्वले मेयर हर्क साम्पाङ गैरजिम्मेवार भएकाले आन्दोलित हुनुपरेको बताए । 

दलका नेताहरुले धरानका सामाजिक विकास महाशाखा, सामान्य प्रशासन, स्वास्थ्य, योजना तथा इन्जिनियरिङ, आर्थिक विकास महाशाखा, शिक्षा महाशाखा, वातावरण तथा विपद् व्यवस्थापन, राजस्व परामर्श महाशाखा, नगर प्रहरीलगायतका शाखालाई ध्यानाकर्षण गराएका छन्  ।

धरान नगर प्रमुख साम्पाङलाई माफी माग्न दिएको अल्टिमेटम सकिएपछि वडाध्यक्षहरुले आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् । सेवाग्राहीका नियमित काम गर्दै वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर मेयर साम्पाङको रवैयाको विरोध गरेको बताए । 

गत फागुन २९ गते  नगर प्रमुखको निजी सचिवको हैसियतमा धरानका २० वटै वडामा अनधिकृत व्यक्तिले निर्देशनात्मक पत्राचार गरेका थिए । पत्र सम्बन्धमा चैत्र १ गते कार्यपालिका बैठकमा मेयर साम्पाले ’मैले अह्राएको’ भन्दै अभिव्यक्ति दिएपछि  वडाध्यक्ष र मेयरबीच विवाद भएको थियो । 

अभिमत राख्ने क्रममा १० नं वडाका वडाध्यक्षले आफूले बोल्न पाउनुपर्ने र फरक मत राख्न पाउनुपर्ने बताएका थिए । उनले निर्वाचित जनप्रतिनिधिलाई अनधिकृत व्यक्तिले निर्देशनात्मक पत्राचार गरेकामा विरोध जनाएका थिए । सोही विवादका आधारमा चैत्र ३ गते नगर प्रमुख साम्पाङले १० नं. वडाध्यक्ष विवेक राईलाई नियमविपरित लिखित स्पष्टीकरण सोधेका थिए । 

मेयर साम्पाङले ज्यादती  गरेको भन्दै चैत्र ५ गते सम्पूर्ण कार्यपालिका सदस्यले प्रेसविज्ञप्ति मार्फत् नगर प्रमुखको ध्यानाकर्षण गराउँदै अनधिकृत पत्राचार गर्ने मेयर साम्पाङका निजी कर्मचारीलाई कार्बाही गर्न र साम्पाङलाई माफी माग्न र २४ घण्टे अल्टिमेटम दिएका थिए । 

मेयर साम्पाङले समस्याको समाधानको निमित्त कुनै पनि प्रयास नगरेकोले कार्यपालिकाका सम्पूर्ण सदस्यहरुको समन्वय र सहमति विना दैनिक नियमित कार्यहरु बाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने किसिमका कुनै पनि किसिमका निर्णयहरु नगर्न, नगराउन कार्यपालिकाका संसदीय दलका नेताहरुले विज्ञप्तिमार्फत अनुरोध गरेका हुन् । 

विज्ञप्तिमा धरान १८ का वडाध्यक्ष नरेन्द्र राई, धरान १५ का वडाध्यक्ष नरेश ईवारम र धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले हस्ताक्षर गरेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत र महाशाखा, शाखा प्रमुखको ध्यानाकर्षण गराउँदै जारी गरिएको विज्ञप्तिमा ’नगर प्रमुखबाट १० नं. वडाका अध्यक्षलाई नियमविपरीत लिखित स्पष्टीकरण सोध्ने र कर्मचारीलाई हतोत्साहित गर्ने गरी बिना कारण कार्वाही गर्ने जस्ता कार्य गरेकोमा २०७९।१२।०५ गते सम्पूर्ण कार्यपालिका सदस्यहरुले प्रेसविज्ञप्ती मार्फत नगर प्रमुखको ध्यानाकर्षण गराएको तर हाल सम्म नगर प्रमुखले समस्याको समाधानको निमित्त कुनै पनि प्रयास नगरेकोले कार्यपालिकाका सम्पूर्ण सदस्यहरुको समन्वय र सहमति विना दैनिक नियमित कार्यहरु बाहेक नगरलाई दिर्घकालिन प्रभाव पार्ने किसिमका कुनै पनि किसिमका निर्णयहरु नगर्नु/ नगराउनु हुन अनुरोध गरिन्छ ।’ भनिएको छ । 

तर नगर प्रमुख साम्पाङले अल्टिमेटमका विषयमा सम्बोधन गर्नुको सट्टा सामाजिक सन्जालमार्फत् वडाध्यक्षका विरुद्ध ‘विषवमन’ गर्दै आएका छन् ।