विराटनगर /  घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । 

सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो । 

जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि थप गरिएको अतिरिक्त समयकोे १ सय १७ औं मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे ।

दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ मिेनटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् ।  

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो  । 

पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।

खेलको पाँचौ मिनेटमा पुलिसका बुद्ध लामाको प्रहार विराटनगरका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाए । १८ औं पुलिसका रवि शंकर पासवानको प्रहार बारमा लागेर फर्किएको थियो । २४ औै मिनेटमा विराटनगरका अभिषेक गुरूङको प्रहार पुलिसका गोलरक्षक संजीव श्रेष्ठले उत्कृष्ट बचाए ।