सुनसरी / साविक विजेता सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा सगरमाथाले उपाधि दाबेदार मछिन्द्र क्लबलाई ३—१ गोल अन्तरले हराएको हो । 

सगरमाथाको जितमा राजिव लोप्चन, स्टेफेन र मेसुकेले गोल गरे । खेलको सुरुवातबाटै दबाब बनाएको सगरमाथाले चौथो मिनेटमा अग्रता बनायो । मेसुकेको असिस्टमा राजिव लोप्चनले सुरुवात अग्रता दिलाए । १२ औ मिनेटमा स्टेफेनले अग्रता दोब्बर बनाए । ५१ औ मिनेटमा मेसुकेले बायाँ भागबाट गोल अघि बढाउँदै अग्रता ३—० बनाए । ४३ औ मिनेटमा मछिन्द्रका कप्तान अफिज ओलावालेले अग्रता कम पारे ।

डिबक्सभित्र अविशेक लिम्बुले ओलावालेलाई फाउल गरेपछि पाएको पेनाल्टीको अवसर गोलमा परिणत बन्यो । सुरुवाती १५ मिनेटमा २ गोलले पछि परेपछि मछिन्द्रका खेलाडीहरुले पाएको मुभलाई समेत सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा ओलावालेले पाएको ३ वटा अवसर सदुपयोग भएन् । मछिन्द्रले पाएका केही वान भर्सेस वानको अवसरमा समेत सगरमाथाका गोलरक्षक देव लिम्बु बाधक बने । पहिलो मिनेटमा नै गोलरक्षक देवले शक्तिशाली प्रहार पञ्च गर्दै क्लियर गरिदिए ।

१५ औ मिनेटमा वान भर्सेस वानको अवस्थामा बिजय भुजेलले गोलरक्षकलाई विट गराएपनि गोल गर्न सकेनन् । १९ औ मिनेटमा ओलावालेको प्रहार गोलरक्षक लिम्बुले ब्लक गरिदिए । २२ औ मिनेटमा ओलावालेको प्रहार पोष्ट माथिबाट बाहिरियो । ३१ औ मिनेटमा वान भर्सेस वानमा ओलावाले चुके ।

पहिलो हाफको तुलनामा दोश्रो हाफमा मछिन्द्रले आक्रमण बुन्न सकेन् । ६४ औ मिनेटमा गोलरक्षक बिट भइसकेको अवस्थामा प्रशान्त अवस्थीको हेडर बाहिरियो । दोश्रो हाफको इन्जुरी समयमा शौरभ लिम्बुको फ्रिकिक प्रहारमा उत्सब राईको हेडर पोष्टमाथिबाट बाहिरियो । इन्जुरी समयमा शौरभ लिम्बुले वान भर्सेस वानको अवस्थामा पाएको अवसरमा गोल गर्न सकेनन् ।  सगरमाथाले समेत अग्रता अझ फराकिलो बनाउने अवसर गुमाउन पुग्यो । २३ औ मिनेटमा स्टेफेनको शक्तिशाली प्रहार गोलरक्षक प्रदिप भण्डारीले बचाए ।

२५ अैा मिनेटमा डिफेन्डर बिच तालमेल नमिल्दा पाएको अवसरमा मेसुकेको प्रहार क्लियर हुन पुग्यो । ५३ अैा मिनेटमा मेसुकेको क्रसमा राजिव लोप्चन गोल गर्न चुके । लगतै मेसुकेले वान भर्सेस वानमा पाएको अवसरलाई फितलो प्रहार गरे । खेलको म्यान अफ दि म्याच सगरमाथाका स्टेफेन घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

सगरमाथाका प्रशिक्षक याम गुरुङले जित निकाले पनि सोचे अनुरुपको प्रर्दशन नगरेको बताउदै जितेकोमा खुशी व्यक्त गरे । गुरुङले विपक्षी खेलाडीहरु अफ्रिकनको कारणले दबाबमा परेपनि खेलाडीहरु बिच तालमेल राम्रो देखिएको बताए । 

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने पहिलो हाफमा पाएको अवसरलाई गोल गर्न नसक्दा पराजित भएको बताए । उनले रेफ्रीको गल्तीका कारण दोश्रो गोल हुन पुगेको आरोप लगाए । उनले अफ्रिकन खेलाडीहरुको कारण भन्दा पनि पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्नु नै पराजयको कारण भएको बताए । उनले पहिलो रोजाईका खेलाडीहरुलाई आराम दिएर दोश्रो रोजाईका बेञ्चका खेलाडीहरुलाई अनुभवका लागि मैदान उतारेको बताए । 

प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा चर्च व्वाइज युनाइटेड र गत संस्करणको उपविजेता त्रिभुवन आर्मी क्लबबीच शनिवार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।