परिस्थिति र अवस्था यस्तो भैदिन्छ कि कहिलेकाँही कल्पना नै नगरेको घटनाले मन–मष्तिष्कलाई खल्बल्याई दिन्छ र अत्यन्तै चिन्तित बनाउँछ ।तर बाध्यता भनौं त्यसको सामना गर्नै पर्ने हुन्छ।मृत्यु स्वाभाविक र कटुसत्य हो तर पनि बाँच्नेहरुका लागि यो अस्वाभाविक र असहज बनिंदिदो रहेछ।पूर्ण सक्रिय र समाज रूपान्तरमा लाग्दा लाग्दै ६७ वर्षको उमेरमा आदरणीय दाजु गोपाल रनपैलीले अनपेक्षित विश्राम लिए।
धनकुटा जिल्लाको तल्लो काप्चेमा विंसं २०१२ साल कार्तिक १८ गते जन्मिएका गोपाल रनपैली धरानको समाजमा परिचित नाम हो।अझ दलित समुदायबीच श्रद्धा र सम्मानले लिने नाम हो।गोपाल दाजु धरानको दलित समुदायको प्रत्येक दुःखको अगाडि सधै आइरहने नाम हो।
जिन्दगीका उकालीओरालीमा, भञ्ज्याङ र देउरालीमा अनगिन्ती मानिसहरू भेटिन्छन् । अनेक प्रकारका घटनाहरू घट्छन् । तर ती सबै मानिस र घटनाहरू हाम्रो संझनामा रहिरहँदैनन् । कुनै क्षणभरमै बिर्सिएर जान्छन् । कुनै महिना वर्षमा बिर्सिइन्छन् । कुनै व्यक्ति वा घटना भने यस्ता हुन्छन् कि हाम्रो मानसपटलमा कहिल्यै नमेटिने ढुङ्गाका अक्षर जस्ता अमिट रहन्छन् । अविस्मरणीय हुन्छन् । तिनै अविष्मरणीय व्यक्ति मध्ये मेरो स्मृति विम्वमा गोपाल दाजु थिए। २०७९ चैत्र ११ गते नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका उपाध्यक्ष गोपाल दाजुको नजिक रहेका धरानका व्यवसायी मित्र फिरोज अलीले गोपाल दाजु नरहेको खबर म्यासेन्जरमार्फत दिए, पत्यार लागेन तर थियो त सत्य।ट्रेनको यात्रामा रहेको मलाई त्यो अनपेक्षित खबरले यति हल्लायो की ट्रेनको हल्लाई र रफ्तार थाहै भएन।एकै पल्ट रत्नरोड, गोपाल टेलर्स, दिनेशको होटल आदि मानसपटलमा सरर गर्दे आए।
कर्मवीर गोपाल
गोपाल दाजुसँग मेरो चिनजान २०५५ सालमा म महेन्द्र बहुमुखी क्याम्पसको विद्यार्थी हुँदा भएको सम्झना छ। मेरो नजरमा उनी एक कर्मवीर हुन्। मैले आज सम्म प्रत्यक्ष देखेका र नजिकबाट संगत गरेका मध्ये परिश्रमी हुन् उनी।धरान २ स्थित रत्नरोडमा रहेको सामान्य सिलाई व्यवसाय गर्ने गोपाल दाजु मेहनत र परिश्रमको मेरो आइडल नै हुन्।सिलाई व्यवसाय गरेर त्यो पनि स्वयं आफै मेहनत गरेर त्यो उचाइको आर्थिक अबस्थामा पुग्नु सायदै कसैले सक्छ होला तर उनले गरे।अझ पछिल्लो समय सिलाई व्यवसाय हुँदै सुनचाँदी व्यवसायमा पुग्नु गोपाल दाजुको आफ्नो कर्म र पाखुराको उपज थियो ।जति कर्मवीर गोपाल दाजु त्यति नै दानवीर थिए।मलाई लाग्छ धरानको दलित समुदायको रूपान्तरका लागि उनले गरेको योगदानलाई समुदायले सधै सम्झिरहने छन्।यो पङ्क्तिकारलाई पनि धरानको समाजमा स्थापित गराउन उनको कम सहयोग थिएन जसको म सधै ऋणी रहनेछु।
बारम्बार। भनौं भने प्राय: जसो दोहोरिरहने गोपाल टेलर्स अगाडिको दिनेशको होटलमा गोपाल दाजुसंग राती ९ बजे पछि धेरै पटक होटलमा पसेको छु। म नपिउने उनी बियर पिउने अनि मलाई केटाकेटीले यो लिची जुस(पाइपसंग पाइने) हो खाने भनेर स्नेह सहितको बोली कानमै गुञ्जायमान हुँदा मुटु नै क्याप्प समायो। जसले अनायास आँखाबाट उनको सम्झनामा आँसु झरे।
धरानमा लामो समय देखि परियार जातिको सामुदायिक भवनको लागि बहस थियो।तर जसरी पानी उम्लनको लागि आवश्यक पर्ने तापक्रमको आवश्यकता परे जस्तो परेन ।त्यसका लागि एउटा शब्दबाण नै त्यो सामुदायिक भवन निर्माणको शिलान्यासको प्रारम्भ बन्न काफी भयो।मेरा मित्र बलिन्द्र विक (धरान ८) लाई धन्यवाद दिन चाहन्छु।उनको धरानका परियार जाती एकजुट नै छैनन् त्यसैले सामुदायिक भवन बनाउन सक्दैनन् भन्ने शब्दले मलाई दिएको मानवीय ठेसको अभिमानलाई गोपाल दाजुले समर्थन गर्दे सुरु भयो ।त्यसको साक्षी रहेका धरान उपमहानगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य किशोर परियार (धरान १२)लाई सलाम त्यो क्षण जसले फोन सम्पर्कमा आज पनि स्मरण गराइ रहन्छन्।
धरानको परियार जातिको एउटा सानो भवन निर्माण हुनु वा नहुनु सामान्य भन्दा सामान्य कुरा हो। तर यो भवन केवल इट्टा वा सिमेन्टको जोड थिएन सिङ्गो समुदायको आत्मसम्मान र शिर उठाइ थियो जसले समाज रूपान्तरणका लागि कयौं सचेत योद्धाहरू तयार गर्न प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गरेको छ।विभेदग्रस्त सामाजिक संरचनाको जाॅतोले पिंधिएका दमित समुदायका स्वरलाई क्रान्तिचेतमा बदल्नु थियो जसको निःस्वार्थ भावले उनले मन खोलेर नेतृत्व गरे।
गोपाल दाजुको सम्मान
सर्वविदित नै छ ।राज्यमा दलित समुदाय भित्र आर्थिक विपन्नताको स्थित दयनीय छ त्यो भन्दा पृथक धरानको समुदाय रहने कुरै भएन।समुदायको विपन्न विरामी हुँदा गोपाल, मृत्युमा गोपाल,विवाहमा गोपाल यतिसम्म की किस्ता तिर्न नसक्दा गोपाल अगाडि आएको कयौं घटनाको साक्षी म बसेको छु।समाजलाई गरेको योगदान बापत न उनलाई कुनै सम्मान चाहिएको थियो वा पदको आकाङ्क्षा थियो। केवल उनले गर्नु थियो आफूले जानेको र गच्छे अनुसारको सहयोगी कर्म गरे त्यो पनि मन फुकाएर।जीवित रहँदा न उनले कहिले सम्मान खोजे न पद तर मृत्युपर्यन्त उनको योगदानलाई समुदायले सधैं सम्झिरहन जरुरी छ।समाज निर्मम छ आज रुन्छ दुई दिनमा भुल्छ। इतिहासलाई बिर्सिएर वर्तमानलाई मात्र हेर्छ जसको झल्को अहिले सामुदायिक भवनका भित्तामा लेखिएका नामबाट पुष्टि भइसकेको छ।तसर्थ गोपाल दाजुको अगुवाइमा उनकै प्रमुखतामा निर्माण भएको धरान ८ स्थित सामुदायिक भवनको कुनामा भए पनि गोपाल दाजुको अर्ध वा पूर्ण कदको सालिक राखियोस् भन्न चाहन्छु। ताकि उनले भवनको कुनाबाट हामी सबैलाई नियाली राखुन् जुन सहि मानेमा उनको श्रद्धाञ्जली हुनेछ। थाहा छैन मौजुदा समुदायका अगुवाहरुको धारणा के छ तर यसका लागि मेरो जोडदार माग रहन्छ।
तर यो भवन केवल इट्टा वा सिमेन्टको जोड थिएन सिङ्गो समुदायको आत्मसम्मान र शिर उठाइ थियो जसले समाज रूपान्तरणका लागि कयौं सचेत योद्धाहरू तयार गर्न प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गरेको छ।
सामुदायिक भवन बनाउने अभियानका प्रमुख गोपाल दाजु हुन्।म स्वयं पनि उक्त अभियानको एउटा सहयोगी पात्र भएको नाताले यो भन्न सक्छु,"हामी कसैले नेतृत्व त्यो सामुदायिक भवन सायदै बन्न सक्थ्यो होला तर उनको नेतृत्व नभएको भए सतप्रतिशत बन्न असम्भव थियो।" यद्यपि त्यसका लागि तत्कालीन धरान नगरपालिका, सांसद कृष्ण कुमार राई संसद कोष तथा १ नं प्रदेश सरकारले गरेको सहयोग सहयोग कदापि भुल्न सकिन्न।
अन्तमा
आयौ तिमी कहाँ बाट त्यो पनि कसैलाई
भनेनौ
गयौ तिमी कहाँ त्यो पनि कसैलाई
भनेनौ
यस जगतमा आएर यो कस्तो खेल रचायौ
सम्झी सम्झी तिमी लाई धुरु धुरु रुने
बनायौ !!!
आज गोपाल दाजुलाई सम्झदै अति भारी अनि गर्हुङ्गो मन लिएर अलविदा भन्दै उनको दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।समुदायलाई तिम्रो अभाव सधैं खट्किनै रहनेछ। तिमीलाई ह्रदयको कुनामा सधैं राख्दै हजारौं माइल टाढाबाट अन्तिम शब्द 'श्रद्धासुमन' दाजु गोपाल।तिमीलाई सधै सम्झि रहनेछु।




















