धरान /  बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले  चावचामा पुगेर काम रोक्न भनेपनि धरानले भने नरोक्ने भएको छ ।

इटहरी उपमहानगरसँगको सिमाना विवादबारे आयोजित पत्रकार सम्मेलनमा  बराहक्षेत्रले भोगचलन गर्दै आएको अमाहा सिमसार पनि धरानले दाबी गरेको थियो ।

यसले बराहक्षेत्र नगरपालिका पनि असन्तुष्ट बनेको थियो पाइप जडानको काम भइरहेको बराहक्षेत्र नगरपालिका १ स्थित चावाचामा पुगेर  मेयर कार्कीले अमाहा सिमसार दाबी गर्ने धरानले भविष्यमा पाइप विस्तार गरिएको बराहक्षेत्रको गाउँहरु पनि दाबी गर्नसक्ने भन्दै तत्काल काम रोक्न निर्देशन दिएका थिए ।

मेयर कार्कीले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र नापीसँग सल्लाह गरेर मात्र काम गर्न फिल्डमा खटिएका दिनेश वान्तावालाई आग्रह गरेका थिए । मेयर कार्कीले भने,‘धरानले अमाहा हाम्रो भन्ने कुरा आइसक्यो, अब भोली पाइप लगेका छौं, यो पनि धरान २० पर्छ भन्न बेर छैन । समस्या होला जस्तो देखे, यो कुरामा क्लियर भएर मात्र काम गर्नुहोला ।’

 मेयर हर्क साम्पाङले भने पानी ल्याउने कुरामा कसैले अवरोध गर्न नमिल्ने भन्दै काम नरोक्न निर्देशन दिएका छन् ।

 यसले दुई छिमेकी बीच सम्बन्ध झन् बिग्रने र द्धन्द बढ्दै जाने देखिन्छ ।

 मेयर साम्पाङले आज शुक्रबार सम्बोधन गर्दै पानी, बाटो जस्तो बिषयमा कसैले पनि अवरोध गर्न नहुने भन्दै बराहका मेयरलाई काम गर्न दिन आग्रह गरेका छन् । 

 मेयर साम्पाङले कसैलाई धरानको बाटो भएर हिड्न नपाउने भनेर धरानले पनि रोक्न नमिल्ने भन्दै बराहक्षेत्रले पनि पानी ल्याउन नदिने भन्नु उचित नहुने बताए ।

 साम्पाङले धरानका हाइटेन्सन पीडितहरुको उदाहरण दिदै धनकुटातर्फ गएको ३३ केभी लाइनले धेरैलाई करेन्ट लागेर घाइते भइरहेको तर त्यही आधारमा धरानले विजुली नकाट्ने पनि बताए ।

 ‘समन्वय गरेन भन्छ, मलाई थाह छैन डिप्लोमेसी हरु केही होइन, हर्क साम्पाङलाई कसरी रोक्ने भन्ने मात्र हो,’उनले भने,‘हाम्रो काम कुनै पनि हालतमा रोकिदैन, रोक्ने प्रयास नगर्नुस् । हाम्रो प्राण जोगाउन अक्सिजन पछि पानी चाहिन्छ, प्राण जोगाउन जे पनि गछौं ।’