विराटनगर । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विराटनगर महानगरपालिकालाई प्राथमिकतामा राख्न विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निरौला कार्कीले प्रदेश सरकार सँग माग गरेकी छिन् ।

 

कार्यवाहक मेयर कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने उनले माग गरिन् ।


प्रदेश सरकार आगामी आर्थिक २०८०/०८१ को बजेट निर्माणमा जुटेको छ । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, कानुनी सल्लाहकार डिल्ली घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापा लगायतको टोलि सहित मुख्यमन्त्री कार्कीलाई भेट्न पुगेकी कार्यबाहक मेयर कार्कीले ऐतिहासिक र आर्थिक नगरी भएर पनि विराटनगर पछि पर्दै गएको बताईन । 


प्रदेश सरकारले हालै ल्याएको स्थानीय सेवा सञ्चालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रति कार्कीले असन्तुष्टि समेत व्यक्त गरिन । उनीले अध्यादेशका कारण कर्मचारीहरुले धमाधम राजीनामा दिइरहेकाले महानगरको कार्यसम्पादनमा समस्या भएको गुनासो गरिन् । कार्यबाहक मेयर कार्कीले स्थानीय सरकार सित छलफल र परामर्श नगरी ल्याएको अध्यादेश संशोधन हुनुपर्नेमा जोड दिएको थिईन । 


मुख्यमन्त्री कार्कीले विराटनगरको विकास र समृद्धिमा आफू गम्भीर भएको प्रतिक्रिया दिएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् ।