धरान /  ‘सुल्झाउने भन्दा पनि बल्झाउने’ को जमात बढ्दै गए पछि धरानमा मेयर भर्सेस वडाध्यक्ष र कार्यपालिका सदस्य बिचको दुरी बढ्दै गएको छ । सहजीकरणको भुमिका खेल्नु पर्ने ब्यक्ती नै हास्दै बसि दिए पछि बल्झाउनेहरु उत्साहित हुँदै गएका छन् । अब धरान कुन मुड्भेठमा गएर ठोक्किने हो, विभिन्न अनुमान गर्न थालिएको छ । 

धरानको जिम्मेवारी लिने पहिलो ब्यक्ती भनेको मेयर हर्क राज राई नै हुन्, दोस्रो उपमेयर आइन्द्र विक्रम वेघा, अनि तेस्रोमा २० वटै वडाका वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरु हुन् । पहिलो ब्यक्ती र तेस्रो ब्यक्ति बिच मनमुटाव भए दोस्रो ब्यक्तीले त्यसको सहजीकरणको भुमिका निर्वाह गर्नु उनको दायित्व र जिम्मेवारी हो ।

तर धरान उपमहानगरपालिकामा विभिन्न चरणमा भएको पहिलो र तेस्रो पक्ष बिचको विवादलाई सहजीकरण गरेर बिवाद समाधान गर्ने जिम्मेवारी दोस्रो पक्षले नलिदा आन्तरिक समस्यामा जाकिदै गएको छ । 

धरान उपमहानगरपालिकाको जनप्रतिनिधि निर्वाचित भए पश्चात् दशौ पटक हो, कार्यपालिका बैठक स्थगित भएको । कुनै पनि स्थगित बैठकलाइ सुचारु गराउन दोस्रो पक्षको भुमिका मैले देखिन, र महशुस पनि गरेको छैन । मेयर स्वतन्त्र, बाँकी जनप्रतिनिधी दलिय ब्यवस्थाबाट चुनिएका । मेयर स्वतन्त्र भएकाले दलीय ब्यवस्था अनुसारको विधि र प्रक्रियामा फरक मत रहन्छ भन्ने मा सबैले बुझे पनि उपमेयर दलीय ब्यवस्थाबाट आएकोले उहाँको सहजिकरण भुमिका प्रभावकारी भए सहजता हुन्छ भन्नेमा पनि सबै बोर्ड सदस्यहरु बिश्वस्त थिए । तर आज सम्म पनि त्यो सहजिकरणको भुमिका खेलेका छैनन् ।

विभिन्न चरणमा भएका विवादका क्रममा उपमेयरले मध्यस्थकर्ताको रुपमा उभिएर कुनै पक्ष सँग नलागि सच्चिनु पर्नेलाई सच्चाउँदै, सुधार गर्नु पर्ने अवश्थालाई सुधार्दै भुमिका खेलेको भए आज ३० जना जनप्रतिनिधी एकै ठाउँमा उभिएका हुन्थे । तर विडम्बना वडाअध्यक्ष तथा कार्यपालिकालाई एक ठाउँमा छाडेर मेयरको पक्षमा मात्रै उभिदा उनको वाहवाही त बढेको छ, विवाद भने चुलिएको छ । यसो भनिरहँदा मेयरको अभियानलाई सपोर्ट गर्दा विरोध गर्यो भन्ने लाग्दा, त्यो पटक्कै होइन् ।

मेयरको अभियानलाई साथ दिनु पनि उहाँको दायित्व हो, हामी सबैको पनि दायित्व हो, उहाँको साथ सराहनिय नै छ । त्यो सँगै नमिलेका मनलाई मिलाउँदै मेयरको अभियानमा हातेमालो गराउनु पनि त उहाँको दायित्व हो, त्यो पुरा गर्नु भएको छैन् भन्ने मात्रै हो । 


केही दिन अघि मैले सामाजिक संजालमा यहि बर्तमान समस्यालाइ सुल्झाउन उपमेयरको भुमिका भएन भन्दै  ‘उपमेयर ज्यु, तपाइको भुमिका धराने जनताले मुल्यांकन गर्ने छन, जनता लडाएर कार्यबाहक मेयर पाउने जुन लोभ गर्नु भो नि, त्यसले तपाइको राजनिती धरातल नै सक्दैछ । मेयर र वडाअध्यक्ष सहित कार्यपालिका सद्स्य जुधाएर धरानलाइ आन्तरिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ, त्यसले समग्र धरानको बिकाशलाइ क्षती पुराउदैछ ।

उपमेयर ज्यु, हासी राख्नुस है ।’ भनेर पोष्ट गरेको थिए । त्यसको भोलि पल्ट उपमेयर ज्युको कल आयो मैले सोचे धरानमा समस्या बढ्दै गयो, आउनुस हामी मिलेर सहजिकरण गरौ, त्यसको नेतृत्व म गर्छु, तपाईं साथ दिनुस भन्नू हुन्छ भन्ने लागेको थियो, तर एकै चोटि म फेसबुक लाइभमा छु, तपाइले लेखेको स्टाटसको बारेमा क्लियर गर्नुस भन्दा म त अकबक्क भए ।  मैले सामाजिक सन्जालमा आउन सक्दिन भनेर फोन काटे । त्यस पछि त के के भयो भयो, नभनौ ।

मेयर ज्यु जहिलै भन्नू हुन्छ, मेरो जनता भनेको नै सामाजिक संजाल हो । उहाको लागि हुनसक्छ, तर दलिय ब्यवस्थाबाट प्रतिनिधित्व गर्ने ब्यक्ती, नेकपा माओबादीका जिम्मेवार नेतालाई आफू माथी आएको प्रतिक्रियाको खण्डन गर्न सामाजिक संजालकै सहारा लिनु पर्ने अवस्था आए पछि के भन्ने ।

उपमेयर ज्यु, लाई पनि सामाजिक संजाल कै स्टन्डबाजी मन पर्न थालेछ । स्वभाविकै हो, मेयर र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको विवाद बढ्दै जान थाल्यो भने त्यसले लिने अप्रिय घटनाको परिणाम कार्यवाहकमै जाने देखिन्छ । त्यो हुँदा स्वतः उपमेयरले नै कार्यवाहक पाउने होइन् र ? 

२०७९ बैशाख ३० गतेको निर्वाचन र जेठ १६ गते कार्यपालिका सदस्यको निर्वाचन पछि धरान उपमहानगरपालिकाको कार्यपालिका बोर्डले पुर्णता पायो । असार १० गते नगर सभा गर्नु पर्ने संविधानिक बाध्यताले बजेट तयारीको चटारो । केही वडाअध्यक्ष दोहोरिनु भएको मेयर, उपमेयर सहित केही वडाध्यक्ष र कार्यपालिका सदस्य नयाँ भएकाले बजेट तयारी ताका थुप्रै बिबादहरु भए । मेयर, उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरु बिच रस्साकस्सी पछि समयमै नगर सभा गर्न सफल भयो ।

तर एउटा बिषयले भने सबैको मनमा तुश चै रहिरह्यो । त्यो थियो मेयर कोष र उपमेयर कोष । मेयर कोष सम्म त ठिकै छ, तर छुट्टै उपमेयर कोष बनाउन नसकिने भन्दै तत्कालीन कार्यपालिका बैठकमा बिरोध हुन थाले पछि वडाध्यक्ष र कार्यपालिका सदस्य संग उपमेयर चिडिन थाल्न सुरु भो ।

मेयरलाई पनि मेयर कोषको बिरोध गरेको भन्ने बुझाई परेकाले बैठक अबरुद्धमै पुग्यो । संयुक्त रुपमा मेयर÷उपमेयर कोष बनाए पछि जहिलै उपमेयरको गुनासो साथीहरुले सहयोग गर्नु भएन भन्ने नै थियो । पछिल्ला घटनाहरुले निम्त्याएको बैठक अबरुद्धको समयमा मैले नै पनि पटक पटक उपमेयरलाइ सहजिकरण गरि दिन आग्रह गर्दा उहाँ जहिलै हास्दै ‘के गर्नु मैले, भन्न सक्दिन, तपाईंहरु मलाई सहयोग नै गर्नु हुन्न’ भन्दै पन्छिने गर्नु हुन्थ्यो । अहिले त झन सहजीकरणको साटो सामाजिक संजालको स्टन्टबाजिमा पो लाग्न थाल्नु भो ।

अहिले धरानको चर्चा सामाजिक संजालकै कारण नेपाली पुगेका विश्वकै देशहरुमा चलेको छ । मेयर हर्क राज राई उर्फ हर्क साम्पाङ सँगको वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु बिचको विवाद र खानेपानीका लागि भएका पहलहरुले बढी चर्चा पाउने गरेको छ । कतिले वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु गलत रहेको ठम्याउँदै गालि गलौचमा उत्रिदै मेयरलाई सहयोग गरेर जानु पर्ने भन्दै आएका छन् भने कति चै मेयरको दम्भ र स्वइच्छाचारी भएकाले सच्चिदै सबैलाई मिलाएर अघि बढ्नु पर्ने सुझाव दिदै आएको छन् ।

दुवै पक्षको चाहना भने एउटै हो, ‘सबै जना मिलेर अघि बढ् ।’ जनताको चाहना सबै मिलेर अघि बढ्नु पर्ने देखिए पनि विवादमा रहेका दुवै पक्षलाई मिलाउन सहजीकरण गर्ने भुमिकाको जिम्मेवारी कसले लिने ?

उपमेयर ज्युलाई मेरो फेरि पनि आग्रह छ । तपाई धरान उपमहानगरपालिकाको दोस्रो व्यक्ति । अहिले देखिएको विवाद समाधान गर्न तपाईको भुमिका महत्वपुर्ण छ । हामी कार्यपालिका सदस्य भन्दा पनि ठुलो जिम्मेवार र दायित्व तपाई कै हो । मैले लेखेको स्टाटस प्रति नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भन्नु भएको छ । मेरो भुमिका कति रहन्थ्यो र तपाईको भुमिका कस्तो हुनु पर्ने हो, मनन गर्नुस ।

मैले स्टाटस लेखेर तपाईको भुमिका सम्झाउन खोज्दा मेरो नैतिकता माथि प्रश्न उठाउनु भो । तपाईले खेल्नु पर्ने भुमिका शुन्य देखिदा तपाईको नैतिकताले चै कसरी तपाईलाई त्यही कुर्सिमा बसिरहन दिन्छ ? यतिका समस्यामा धरान जकडिदै गर्दा तपाईको भुमिका त स्पष्ट देखिएको छैन्, कसरी तपाईको नियत सहि छ भन्ने ? नियतको प्रमाण त कतै पनि पेश गर्न सकिन्दैन् ।

तपाईको हासो प्रति टिप्पणी गर्न खोजेको हैन् नहास्नुस पनि भनेको हैन्, तपाई हास्दा हामी पनि हास्न सिकिरहेका छौं, तर यस्तो समस्या आउँदा चै अलि सिरियस हुनुपर्छ भन्न खोजेको हुँ । धरानका मेयर र वडाअध्यक्ष तथा कार्यपालिका सदस्य बिच बढ्दो खाडललाई पुर्न छाडेर कहिले सम्म हासिरहने उपमेयर ज्यु ?

(उपमेयर ज्युले सामाजिक संजालमा आएर आफ्नो धारणा राख्न आग्रह गर्नुभएको थियो, त्यस्तो स्टण्ड गर्न इच्छुक छैन, त्यसैले सञ्चार माध्यमबाटै कार्यपालिका सदस्य भैरहदाको मेरो अनुभव, बिश्लेशन र मैले गरेको महशुस अनुसार उपमेयर ज्युलाई पत्र लेखेको हुँ ।)