संखुवासभा /  संखुवासभा नगरपालिका–९ खाम्लिङमा एकै घरका चार बालिबालिका बेहोस अवस्थामा फेला परेका छन् । आइतबार स्थानीय मनबहादुर तामाङका चारजना छोराछोरी बेहोस अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । इलाका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार मनबहादुरका छोरा ९ वर्षीय मनध्वज तामाङ, ८ वर्षीय राजेन्द्र तामाङ, ५ वर्षीय निमसाङ तामाङ र छोरी ३ वर्षीया सुपरिना तामाङ घर नजिकै अचेत अवस्थामा फेला परेका थिए ।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किदा छोराछोरीहरू अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेका थिए । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

वेहोस अवस्थामा रहेका चारैजना बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूले जंगली खाने कुरा खाएर विरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ ।