विराटनगर / सुशासन, कार्यसम्पादन र राजस्व संकलनलगायतका क्षेत्रमा अग्रणी रहेको विराटनगर महानगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । 

सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ ।

“सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुरयाएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय सरकारी कार्यालयतर्फ विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको छ ।

महानगरका मेयर नागेश कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने पुरस्कार विराटनगरवासीको पनि भएको बताउनुभयो । विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियानहरु सफल भइरहेको उहाँको भनाइ थियो ।

मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएको अनुमतिपत्र नविकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिनुभयो । उहाँले महानगरपालिकाको साथ र सहयोग प्राप्त भए आफ्नो कार्यकालमा गर्व गर्न र भावीपुस्ताले सम्झन लायक विराटनगरवासी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।