सुनसरी /सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न सुनसरी जिल्ला प्रशासन कार्यलयले निषेध गरेको छ ।
जिल्ला प्रशासन प्रमुख हुमकला पान्डेले सुचना जारी गर्दै सार्वजनिक स्थलमा धुम्रपान र सूर्तीजन्य पदार्थको प्रयोग नगर्ने,
अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुम्रपान तथा सूर्तीजन्य पदार्थ मुक्त गर्ने/गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवनलाई निषेध गर्ने ब्यवस्थालाइ प्रभावकारि कार्यन्वयन गराउन गृह मन्त्रालयले पत्राचार गरेको थियो ।
सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा, सूर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ ।
सार्वजनिक स्थललाई धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ समेतका आधारमा कानून उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने भएको छ ।