धरान / ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौ, वातावरणमैत्री विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको छ ।
प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस नेपालमा पनि मनाइने गरिएको हो । आजको दिन धरानमा समेत विभिन्न स्थानको सरफाई गर्दै विश्व वातावरण दिवस मनाइएको छ ।
उपमहानगरपालिका, विभिन्न वडाहरुले छुट्टाछुट्टै रुपमा विश्व वातावरण दिवस विभिन्न स्थानको सरसफाइ गरी मनाएका छन् ।
यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १९ को आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त व्यार्नर सामुदायिक प्रहरी साझेदारीसहित हरियाली सामुदायिक वन उपभोक्ता समिति, चौकीबारी महिला समूहले धरान १९ मा रहेका महत्वपूर्ण स्थानको सरसफाइ गरेर विश्व वातावरण दिवस मनाएको हो ।
संयुक्त टोलीले हरियाली सामुदायिक वनदेखि सरसफाइ शुरु गरेको थियो । त्यसपछि दिपेन्द्र चौक, बाजेबज्यु चौक हुदै इलाका प्रहरी कार्यालय अगाडिको फोहोर सरसफाइ गरेको थियो ।
सो अवसरमा बोल्दै धरान १९ की वडा सदस्य झुमादेवी राईले विश्व वातावरण दिवसको अवसरमा वडा समितिसँगै संयुक्त टोलीले विभिन्न ठाउँमा सरसफाइ गरेको बताइन् । उनले वातावरण दिवसका दिनमात्र हैन आफ्नो घर आगनमा भएको फोहोर महिला सधै आफैले सफा गरौ भन्ने सन्देश समेत प्रवाह गरेको बताइन् ।
वडा सदस्य लोकेन्द्र राईले धरान १९ का सामाजिक संघ संस्था, प्रहरी वडा समितिका पदाधिकारी लगायतले ंसंयुक्त रुपमा सरसफाइ गरेको बताए । उनले १९ वडाभित्र सबै टोलमा सरसफाईसँगै जनचेतना फैल्याउने अभियान बोकेर विश्व वातावरण दिवस मनाइएको बताए ।
सहभागीहरुले बर्षमा एक पटक सरसफाइ गरेर मात्र नहुने तर सर्वसाधारण आफै सचेत हुनुपर्नेमा जोड दिएका थिए । चौकीबारी आमा समूहकी प्रतिनिधि विष्णुदेवी सुवेदीले अझै पनि सरसफाइसम्बन्धी सर्वसाधारणमा जनचेतनाको कमी भएको बताइन् । उनले उपमहानगरपालिकाले फोहोर फाल्न दिएको डस्विनको सही सदुपयोग नगरी जथाभावि फोहोर फाल्ने प्रवृत्तिले पनि समस्या निम्त्याएको बताइन् । .