सुनसरी / तराइका जिल्लाहरुमा गर्मी बढ्दै गए पछि लू’लाग्ने खतरा बढ्दै गएको छ । 

 सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।गर्मी मौसममा विशेषगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा वहन थाल्छ ।

पछिल्ला दिनमा तराईका जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । तातो हावा र ‘लू’ लाग्न थालेपछि तराई मधेशका विद्यालय बन्द गरिएको छ ।

गर्मी र ‘लू’ बाट बच्न निकै सतर्कता अपनाउनुपर्छ । सामान्य लापरबाही गर्दा ‘लू’ का कारण मानिसको मृत्यु समेत हुन्छ ।

नेपालमा ‘लू’ को असरले प्रति लाखमा दुई जनाको मृत्यु हुने गरेको छ । गर्मी र ‘लू’ का कारण विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई असर पुर्‍याउने चिकित्सक बताउँछन् ।