सुनसरी/  विराटनगर ५ का रोहित चौधरीको हत्याको कारण लुटपाट भएको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हत्यामा संलग्न दुई जनालाई सार्वजनिक गर्दै हत्याको कारण लुटपात भएको जनाएको हो ।

प्रहरीले लुटपाटमा संलग्न रहेका लेटाङ नगरपालिका १ का ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई बुधबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका दुवैजना  लागु औषध प्रयोगकर्ता रहेको जनाएको छ ।

साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि आज प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न रहेको पाइएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ वास्तोलाले जानकारी दिए ।

उनले भने ‘इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा उनीहरु नै संलग्न रहेको पाइएको छ,  उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए ।’

पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त रहेको र  तामाङ लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त रहेको डिआइजी वास्तोलाले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीसमेत बरामद भएको डिआजी बास्तोलाले बताए ।

गत साउन ५ गते २८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा चौधरीमाथि माथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।