धरान/ जति जति संक्रमित बढ्दै गएका त्यति त्यति मेडिकल माफियाहरुले मौकाको फाइदा उठाउँदै सर्वसाधारणसँग औषधि र उपचारको नाममा महंगो मूल्य लिएर सर्वसाधारणलाई ठग्ने गरेकोे व्यापक गुनासो गरेपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले अनुगमनलाई तिब्रता दिइएको छ ।
धरानमा डेंगु संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएको छ ।
उपचार एवम् औषधिमा मेडिकल हलहरुले चर्काे मूल्य लिने गरेको गुनासो व्यापक आएपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले आफ्ना वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो ।
किटको अभाव तथा औषधिको कृतिम अभाव देखाउदै विरामीबाट महँगो मूल्य लिने गरेको व्यापक गुनासो वडामा आएपछि वडाध्यक्षसहितको टोलीले वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो ।
डेंगु संक्रमण पत्ता लगाउने किटको मूल्य १ सय ५० सम्म पर्ने भएपनि १ हजारसम्म लिने गरेको, विरामीलाई लगाइने स्लाइन पानीको मूल्य बढी लिएको र सिविसी चेक गर्दा महँगो शुल्क लिने गरेको पाइएपछि अनुगमन गरिएको वडा सदस्य भीम लिम्बुले बताए ।
उनले अनुगमनका क्रममा विरामीले प्रत्यक्ष थाहा पाउने गरी मूल्य सूचि बोर्ड राख्न निर्देशन दिएको बताए ।
यस्तो अवस्थामा मेडिकल हलहरुले औषधि र उपचारमा बढी मूल्य लिइरहेकोे व्यापक गुनासो आइरहेको समयमा धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाले अनुगमन गरेर बढी रकम लिने मेडिकल हललाई कारबाही नगरेपछि आफूहरुले अनुगमन गरेको वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताए ।
उनले अहिलेको विषम् परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोले आ आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।
धरानमा अहिले १६ नं. वडाको टोल टोल र घर घरमा डेंगु संक्रमण रोगीहरु बढ्दै गएका छन् ।
अहिले धरानमा झण्डै ३ हजारको हाराहारीमा डेंगु संक्रमण रोगीहरु रहेका छन् । संक्रमणका समयमा सेवा भाव भन्दा पनि मौकामा फाइदा लिने प्रवृत्तिको विकास भइरहेको अवस्थामा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अनुगमनलाई व्यापकता दिँदै आएको जनाएको छ ।
१ सय ५० रुपैयाँसम्म पर्ने किटलाई १ हजारसम्म लिने गरेको सर्वसाधारणे गुनासोको विषयमा वास्तविक बुझेर कारबाही गर्ने महाशाखा प्रमुख उमेश मेहताले बताए ।