धरान/  देउराली खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।

‘स्वास्थ्य जीवनको आधारभूत आवश्यकतास् स्वच्छ खानेपानीको दीर्घकालीन व्यवस्था’ भन्ने मूल नारा सहित शनिवार समितिको ११ औँ साधारण सभा सम्पन्न भएको हो । 

नेपाल रेडक्रस सुनसरीका सभापती तथा नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा समितिका अध्यक्ष जीवन लिम्बूले आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण तथा आगामी कार्याक्रमहरु प्रस्तुत गरेका थिए ।

प्रगति विवरण प्रस्तुत गर्ने क्रममा अध्यक्ष लिम्बूले महसुल तिर्ने बेलामा उपभोक्ताका विभिन्न गुनासाहरू आउने गरेपछि त्यसलाई व्यवस्थित गर्न डिजिटल बिलिङ प्रणाली स्थापना गरिएको बताए ।

उनले, हस्तलिखित प्रणालीमा त्रुटि हुने र विभिन्न शङ्का उपशङ्काहरू उब्जिने भएपछि त्यसलाई व्यवस्थापन गर्न डिजिटल मिटर रिडर र सफ्टवेयर मार्फत डाटा इन्ट्री गर्न थालिएको बताएका छन् । 

उनका अनुसार उपभोक्ताको सहजताका लागी अनलाइन पेमेन्टको पनि व्यवस्था गरिएको छ ।

समितिले उपभोक्तालाई खानेपानी वितरण गर्ने मात्र नभएर उपभोक्ताको स्वास्थ्यमा समेत ध्यान दिएर विभिन्न समयमा स्वास्थ्य शिविर गर्नुका साथै डेङ्गी महामारीमा अग्रसरता देखाएर फगिङ् मेसिन खरिद गरी उपभोक्ताको घर दैलैमा फगिङ् गरिएको बताए ।

त्यस्तै, लिम्बुले, बर्खामा मुख्य स्रोतको पानी धमिलो हुने भएकाले वैकल्पिक सहायक स्रोतको व्यवस्थापन,  नयाँ वितरण पाइपलाई बिछ्याउनुका साथै, विभिन्न स्थानमा वितरण पाइपलाईको अप ग्रेट गरी विभिन्न साइजका २२ सय ५० मिटर पाइप बिछ्याइएको बताए  ।

त्यस्तै समितिका सचिव मिसेक लिम्बूले आर्थिक विवरण प्रस्तुत गरेका थिए । सचिव लिम्बूले प्रस्तुत गरेको आर्थिक विवरण अनुसार आर्थिक वर्ष २०७९/०८० मा समितिले  १६ लाख ४४ हजार २७  खुद नाफा कमाएको छ ।

गत वर्ष १० लाख १८ हजार ६८ रहेको थियो ।  कुल आम्दानी ६४ लाख ४ सय ४४ रहेकोमा आर्थिक वर्ष ०७९/०८० मा ४७ लाख ५६ हजार ४ सय १७ जम्मा खर्च रहेको छ । प्रस्तुत आर्थिक विवरणमा अघिल्लो आर्थिक वर्षमा  १४ लाख १० हजार ३९५ प्रशासनिक खर्च रहेकोमा यस वर्ष ५ लाख ४६ हजार ९ सय २ मात्र रहेको छ ।

पानी महसुल, मिटर विक्री, ठाउँ तथा नामसारी, सामान विक्री, विलम्ब शुल्क र ग्राहक कार्डबाट समितिले ६४ लाख ४ सय ४४ आम्दानी गरेको हो । समितिले कर्मचारी लाभ खर्चमा यस वर्ष १४ लाख ४८ हजार दुई सय खर्च गरेको छ ।