ताप्लेजुङ/ तीन महिना देखि बन्द रहेको नेपाल एयरलाइन्सको काठमाडौँ सुकेटार उडान सुरु भएको छ।

मौसमको खराबीका कारण गत जेठ २४ गतेदेखि हुन नसकेको काठमाडौँ सुकेटार उडान मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।

लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौँ गएका छन्।

पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन्।

करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ। काठमाडौँ ताप्लेजुङको भाडा यसअघि रु नौ हजार छ सय ५३ थियो भने हाल घटाएर रु आठ हजार छ सय कायम गरिएको छ।

यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि रु नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर रु आठ हजार चार सयमा झारिएको छ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ।

यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ।