सुनसरी/ सडक सञ्जालले नछोएको यो स्थानमा सडकको आवश्यता महसुस गरी ०७५ सालमा लुम्बिनी गजुरमुखी ज्वाइन्ट भेन्चरले ठेक्का लियो तर कोभिड महामारीका कारण समय सीमामा काम सम्पन्न नभएपछि पुन: म्याद थपियो ।
थपिएकाे म्याद समेत भर्खरै अर्थात २०८० असार मसान्तमा सकिएको छ तर पनि सडक निर्माण हुन सकेको छैन ।
धरान वडा नम्बर १५ स्थित निराजन बस्ती हुँदै धनकुटाको राजारानी जोड्ने सडक धरानकै दुर्गम मानिएका धरान ४ को दानावारी, हर्दिया, तेलनपुर लगायतका गाउँलाई शहर सँग जोड्न २०७५ सालमा सडक उदघाटन गरिएको थियो ।
दुई वर्ष भित्र १७ किलोमिटर सडक निर्माण सक्ने ठेक्का लागे पनि सडक निर्माण कार्य अहिले अलपत्र बनेको छ ।
समयमै सडक सम्पन्न भए धरान ४ का स्थानीय उत्पादनलाई बजारीकरण गर्न शहरमा अध्ययन गर्न सहज हुने स्थानीयले विश्वास लिएका थिए । ५ वर्ष सम्म पनि सडक निर्माण नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ ।
तत्कालिन प्रदेश १ (क) तर्फका प्रदेश सांसद तथा सभामुख प्रदिप भण्डारीको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो ।
भण्डारीले उक्त सडकको शिलान्यास गरेका थिए । दुई वर्षमा सडक सम्पन्न गरिसक्ने भन्दै लुम्बिनी गजुरमुखी गैरफेन्ज कम्पनिले ठेक्का लिएको थियो ।
पछिल्लो समय सडक निर्माण गर्न पेटि ठेक्का इन्दु तुमाम्फेले लिएका थिए । पेटि ठेक्का लगाए पनि सडकको काम २० प्रतिशत पनि नभएको ४ का वडाअध्यक्ष धन बहादुर राईले बताए ।
दुई वर्ष भित्र निर्माण गरिसक्ने भन्दै ठेक्का लागेको सडक ४९ करोड बजेट प्रदेशले टेन्डर लगाएको थियो । ३० फिटको बाटो निर्माण गरिने भनिए पनि २१ फिट पिच हुने सम्झौता भएको अध्यक्ष राईले बताए ।
प्रदेश सरकार सँग समेत बारम्बार सडक निर्माणको काम ढिलाईको विषयमा जानकारी गराउँदा चासो नदेखाएको राईले बताए ।
उनले भने, ‘सरकारको समेत कमजोरी देखिएको छ, ३५ प्रतिशत बिलोमा टेन्डर राखेर ठेकेदारलाई ६५ प्रतिशतमा दिएर १ सय प्रतिशतको काम गर्न लगाउने सिस्टम छ, ठेकेदारले आफुलाई नाफा राखेर काम गर्न खोज्दा कमसल मात्रामा सामान प्रयोग गरेर बनाउदा सडकको बनेको डूेनहरु समेत भत्किएको छ ।’
मन्त्रालयबाटै टेण्डर लागेको हुनाले वडाले अनुगमन समेत गर्न नमिले पछि सडक सुस्त तरिकाले निर्माण भएको उनले बताए ।
उनका अनुसार सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट ४ बर्ष अघि टेन्डर लगाएको थियो ।
ठेक्का समयावधि सकिएको दुई बर्ष वितिसक्दा समेत सडकले कुनै नयाँ रुप लिन नसक्दा स्थानीयवासिहरुलाई निकै समस्या बनाएको अध्यक्ष राई बताउँछन् ।
बाटो डोजर लगाएर त्यसै छाडिएको छ । बर्खामा पहिरो जाने, बाटो भत्किदा दैनिक आवश्यक पर्ने खाद्यान ल्याउन समेत निकै कष्टकर हुने गरेको श्री गाउँका किशोर राई बताउँछन् ।
उनले भने, ‘बाटो निर्माण शुरु हुँदा एक किसिमको खुशि ल्याएको थियो, ।गाउँमा उत्पादन भएका सब्जीहरु बजार सम्म पु¥याएर व्यवसाय गर्ने, उत्पादन भएको सामाग्रीहरुको बजारीकरण गर्न सकिने थियो, त्यो सपना अधुरो नै रह्यो ।’
गाउँमा उपचारको लागि सामान्य औषधी लिन समेत धरान आउनु पर्ने हुँन्छ ।
वर्षामा पहिरो जाँदा बाटो अबरुद्ध हुँदा ज्यान नै जोखिममा पर्ने गरेको छ । घन्टौ लगाएर बजार पुर्याउनु पर्ने बाध्यता रहेको राईको गुनासो छ । वडा नम्बर ४ मा प्राथमिक र निमावि सम्म मात्रै पढाइ हुने भएकाले उक्त क्षेत्रमा विद्यार्थीहरु अध्ययन गर्न धराननै आउनुपर्ने बाध्यता छ ।
दानावारी, हर्दिया, तेलनपुर र ढाँडेका विद्यार्थीहरु मावि तहको शिक्षा लिन यातायातको साधन ओहोरदोहोर गर्न नसक्ने भए पछि सकस भएको राईले बताए ।
सडक समयमा निर्माण हुन सके धरानको वडा नम्बर ४ लगायत मोरङ, धनकुटाका धेरै ठाउँको विकास र कृषि उत्पादन बजार सम्म ल्याउन सकिन्थ्यो ।
बाटो निर्माण समयमा नहुँदा स्वास्थ र शिक्षा र कृषि समेत असर पुगेको हर्दियाका पदम राईले बताउँछन् ।
सडक धरान १५ को निराजन बस्ती हुँदै धरान वडा नम्बर ५ देविगाँउ, वडा नम्बर ४ को पत्रङवारी, श्री गाउँ, दानाबारी, हर्दिया, शेर्गे, तेलनपुर, ढाडे र मोरङको ओखरे, धनकुटाको राजारानी, टाकुरे याङशिला हुदै सतिघाट जोडने उद्देश्यले निर्माण शुरु गरिएको थियो ।