धनकुटा/  धनकुटा सहित कोशी पहाडी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुम गरी चार जिल्लालाई प्रदेश सरकारले सेवा दिने उद्देश्यले धनकुटाम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय स्थापना भएको चार बर्ष बितिसकेको छ ।

कोशी प्रदेशबाट सञ्चालित विकास आयोजनाको अनुगमन मूल्यांकन गर्ने र अन्तर्गतका कार्यालयको प्रशासनिक सेवा सुदृढ बनाउने उद्देश्य राखेर २०७६ बैसाखमा स्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रि परिषद्को सम्पर्क कार्यालय लामो समयदेखि काम विहीन बनेको छ ।

तत्कालीन प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मत्थर पार्न प्रदेश सरकारले २०७६ वैसाखमा धनकुटामा मुख्य मन्त्री तथा मन्त्रि परिषद्को सम्पर्क कार्यालय निकै तामझामका साथ स्थापना भएको थियो ।

कार्यालयको उद्घाटन गर्दै तत्कालीन मुख्यमन्त्री शेरधन राईले आवश्यक पूर्वाधार र कर्मचारीको व्यवस्था गरेर धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लालाई प्रदेश सरकारले यही कार्यालयबाट सेवा उपलब्ध गराउने र पूर्वी पहाडी क्षेत्रका लागि यो महत्वपूर्ण हुने बताउँदै मन्त्रिपरिषद्को बैठक यही कार्यालयमा बसेर महत्वपूर्ण निर्णय गर्ने बताएका थिए ।

उनले भनेका थिए–‘धनकुटालाई थप दिने उपहारका बारेमा यही कार्यालयमा बस्ने मन्त्रि परिषद्को बैठकबाट हामी केही महत्वपूर्ण निर्णयहरु लिने छौं । धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लालाई मुख्यतः यही केन्द्रबाट नेतृत्व गर्नका निम्ति हामीले यो सम्पर्क कार्यालय स्थापना गरेका हौ ।’

तर अहिले गुनासा सुनेर सम्पर्क, समन्वय, अनुगमन र सुपरीवेक्षण गर्नु त परै जाओस् कार्यालयलाई व्यवस्थित गर्न कर्मचारी समेत राखिएका छैनन् ।

कोशी प्रदेशका त्यसपछिका  तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईबाहेक भीम प्रसाद आचार्य, हिक्मतकुमार कार्की र अहिलेका मुख्यमन्त्री उद्धव थापाको यो कार्यालय परिषरमा पाइलो समेत परेको छैन ।

त्यो बेला राजधानी मागको आन्दोलन मत्थर पार्न यो कार्यालय स्थापना गरिएको र पछिल्लो समय सो अन्दोलन मत्थर भएसँगै यो कार्यालय पनि सुनसान बनेको स्थानीयको भनाई छ ।

धनकुटाका निवर्तमान पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर  श्रेष्ठ भन्छन् ‘स्थापना हुने कुराचाहिँ त्यतिखेर धनकुटा राजधानी हुनुपर्छ भनेर धनकुटामा मात्र हैन, धनकुटाको आन्दोलन काठमाण्डौमा पनि भएको थियो,

यो आन्दोलन चर्किरहँदा धनकुटाको आन्दोलन कसरी सम्बोधन गर्ने भन्ने विषयमा मुख्यमन्त्रीले  आश्वासन दिनको लागि यो कार्यालय खुलेको हो ।’

आश्वासन अनुसार कार्यालय तामझामका साथ उद्घाटन गरिए पनि सरसर्ती हेर्दा यो कार्यालय तत्कालीन राजधानीको मागको आन्दोलनलाई मत्थर बनाउनमात्र कार्यालय खुलेको बुझ्न सकिने श्रेष्ठ बताउँछन् ।

उनीमात्र हैन अहिले धनकुटाको अधिकांश स्थानीयको भनाई श्रेष्ठकै जस्तो रहेको छ ।

सम्पर्क कार्यालय भएपनि प्रदेशको हरेक काम गर्नुपर्दा राजधानी विराटनगर नै पुग्नुपर्ने बाध्यता भएकोले यो कार्यालयको औचित्य नभएको स्थानीयको भनाई छ ।