इलाम/ इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय र लेखा अधिकृतको अश्लील क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।

पालिकाको कार्यकक्षमै अनैतिक क्रियाकलाप गरेको भिडियो आएसँगै माईजोगमाई गाउँपालिका चर्चामा रहेको छ । तिन वटा सार्वजनिक भएको भिडियोमा प्रमुख प्रशासकीय र लेखा अधिकृतबिच अङ्कमाल देखि गालामा मुख जोड्ने सम्मको क्रियाकलाप गरेको देखिन्छ ।

कार्यालयको मुख्य पदमा रहेका कर्मचारीले पालिकामा सिसी क्यामेरा जडान भएको थाहा हुँदा हुँदै यस्तो हर्कत गर्नुले कार्यालयलाई हेपेको आलोचना चलिरहेको छ ।

कर्मचारीहरूले कार्यकक्ष भित्र गरेको यस्तो हर्कतले सम्पूर्ण कर्मचारीको बदनाम भएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।

समाजिक सञ्जालमा बाहीरीएको तीनवटा भिडीयोमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले कार्यालय भित्रै गरेको हर्कतका कारण गाउँपालिकाको बेइज्जती भएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले बताए ।

उनले वास्तविकता बुझेर कारबाहीको प्रकृया अगाडी बढाउने भन्दै फुटेज केही दिन अघिको भएका कारण प्रशाुकिय अधिकृत यस अघि नै गाउँपालिका छाडेर अर्को स्थानीय तहमा गएको भनिए पनि उनलाई कार्यालयबाट आधिकारीक विदाई भने नगरीएको बताए । 

गत साउन १८ गते माईजोगमाई गाउँपालिकामा आगलागीको घटना समेत भएको थियो ।

उक्त आगलागी दुई अधिकृत बिचको अनैतिक क्रियाकलापको प्रमाण नष्ट गर्नका लागि उनीहरुलेनै लगाएको आरोप लागेको थियो । साउन १८ गते राति कार्यालयमा आगलागी भएको थाहा पाएपछि स्थानीयले जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई खबर गरेका थिए ।

  प्रहरी र स्थानीयको सहयोगमा केही क्षणमा आगो नियन्त्रणमा समेत लिइयो ।

१९ गते बिहान गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे सहित जनप्रतिनिधि, कर्मचारी र प्रहरी बसेर आगलागीका कारण १३ लाख, ६० हजार छ सय अनुमानित  क्षति भएको डाटा तयार पारियो । गाउँपालिका कार्यालय भवनको सर्बर भएको ठाउँबाट आगलागी सुरु भएको अनुमान समेत गरियो ।

  आगलागीबाट कार्यालयमा जडित सिसी क्यामेरा ध्वस्त भएको थियो । जसबाट इन्भर्टर सहित ४ वटा ब्याट्री समेत जलेको थियो ।

कार्यालयको कागजपत्र भएको ठाउँमा आगलागी पुग्न पाएन । त्यसअघि नै आगलागी नियन्त्रणमा लिइयो ।

आगलागीबाट कागजपत्र कुनै नजलेको बताइएको छ । आगलागीको कारण र पत्ता लगाउन गाउँपालिका अध्यक्ष थेबेको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र राजश्व तथा सहकारी शाखाका अशोक लिम्बु सहितको समिति गठन भयो ।

तर प्रमुख प्रशासकीय राईको सरुवा भईसकेको छ ।  समितिमा प्रहरीका प्रतिनिधि, बिद्युत् कर्मचारी र वडा नम्बर एकका वडाध्यक्ष रहने गरी छानबिन समिति रहेका छन । समितिले अहिले सम्म के कारण आगलागी भयो भन्ने बारे अहिले सम्म प्रतिवेदन आएको छैन ।

यस विषयमा गाउँपालिकाले कुनै जानकारी दिन सकेको छैन ।

आगलागीको विषयमा  प्रमुख प्रशासकीय अधिकृत राईले एउटा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा आगलागी गर्न नसक्ने भन्दै आफूमाथि लागेको आरोप झुटो भएको दाबी गरे । सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने काम भएको उनको भनाई छ ।

घटना भई नै सक्यो । जसरी घटना घट्यो या घटाइयो भन्ने विषयमा छानमिनका लागि समिति नै गठन भइसकेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले यस विषयमा आफूहरू गम्भीर भएर छानमिनमा लागेको बताइन् । छानबिन समितिबाट आएको प्रतिवेदन पछि मात्र गाउँपालिकाले आधिकारिक धारणा बनाउने उनको भनाई छ ।