धरान/  कृष्ण अष्टामीको अवसरमा सोमबार हुने महान श्रीकृष्ण रथयात्राको तयारी पूरा भएको आयोजक गीता भवन समतिलिे जनाएको छ ।

कृष्ण अष्टमीमै अवसर पारेर सोमबारदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको समितिले विहीबार हुने रथयात्राको पूर्ण तयारी भएको जनाएको हो ।

भगवान विष्णुको आठौ अवतारको रुपमा श्रीकृष्णलाई हिन्दु सनातन धर्मालम्बीहरुले लिने गरेका छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएका मानिन्छ । मध्यरातमा श्रीकृष्ण जन्मिएकाले  यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि  भनिन्छ ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

यसै क्रममा धरान २ गीता मन्दिरले कृष्ण अष्टमीको अवसरमा सोमबारदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै आएको छ । 

मन्दिरले पहिलो दिन अर्थात भाद्र १८ गते सोमबार श्रीकृष्णमृत प्रवचन, भाद्र १९ गते मंगलबार श्रीकृष्ण झुलोत्सव र आज २० गते अर्थात कृष्ण अष्टमीको दिन कृष्णको विशेष पूजा श्रीकृष्ण महाभिषेक भइरहेको छ । बुधबार राति १२ बजे अर्थात कृष्णको जन्म नभइन्जेलसम्म हुने आयोजकले जनाएको छ ।

विहीबार भने भव्य रथयात्रा निकाल्ने तयारी रहेको व्यवस्थापन समितिका सदस्य एवम् गीता मन्दिरका कर्मचारी श्याम चापागाईले जानकारी दिए । विशाल रथयात्राले धरानका विभिन्न भागको परिक्रममा पश्चात प्रसाद वितरणको कार्यक्रम रहेको उनले जानकारी दिए ।

गीता मन्दिर धरानकै सबैभन्दा पुरानो मन्दिरको रुपमा मानिन्छ । यहाँ विभिन्न देवी देवताका मूर्तिहरु स्थापित गरिएका छन् । विभिन्न सहयोगी दाता तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा यो मन्दिर स्थापना भएको समितिका उपाध्यक्ष डा. गोपाल भण्डारीले बताए ।

यो मन्दिर बजारको बीच भागमा रहेकोले  विशेष गरी तीज पर्व, दशै, तिहार तथा कृष्ण अष्टमी लगायतका चाडपर्वमा मात्र हैन अन्य समयमा समेत भक्तजनहरुको भीड लाग्ने गरेको छ ।