काठमाडौं/ प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। 

मंगलबार राति १ बजे उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। 

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो।

उनी संविधानसभा अध्यक्ष समेत हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसकेका छन्।

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए।

उनी इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी भएका हुन्।

उनी २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका थिए। २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

२०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए।उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो।