सुनसरी / नेकपा एमाले कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्न प्रदेशका १४ वटै जिल्लामा निर्वाचन तथा सहमतीय आधारमा छनौट तिब्र रुपमा भइरहेको छ । 

असोज १२ र १३ गते विराटनगरमा हुने कोशी प्रदेशको अधिवेशनका लागि १२ जिल्लामा प्रतिनिधी छनौट भइसकेका छन् ।

सुनसरी र उदयपुरका केही पालिकाहरुमा छनौट प्रक्रिया चलिरहेको छ । अधिवेशनका लागि पुर्व सदस्यहरु पनि स्थानीय तहबाटै प्रतिनिधि छनौट भएर आउनुपर्ने भएकाले पालिका स्तरमा छनौट प्रक्रियामा असहजता देखिएको छ । असहज परिस्थितीका बाबजुद पनि कोशी प्रदेशका १२ जिल्लामा प्रतिनिधि छनौट भइसकेका छन् ।

अधिवेशनका लागि कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरु चयन हुनेछन् । नेकपा एमाले कोशी प्रदेशका सचिव तिलचन पाठकका अनुसार उदयपुरका केही पालिका र सुनसरीका केही पालिकामा प्रतिनिधि चयनको काम भइरहेको छ । 

अधिवेशनका लागि ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १ सय ८१, संखुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १ सय ७८, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनित ५० जना प्रतिनिधि छनौट हुने बताइएको छ ।

अधिवेशनमा भूगोलबाट ९ सय ६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३ सय ३४ जना महिला हुनेछन् ।

अधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि प्रदेश अध्यक्षका लागि चार जनाको दाबेदारी देखिएको छ ।

निर्वाचित प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्यूरो सदस्य सरहको हैसियत दिने व्यवस्था गरेको छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरु तीब्र कसरत गरिरहेका छन् ।

प्रदेश अध्यक्षका लागि एमालेका केन्द्रीय सदस्यसमेत रहेका विनोद ढकाल, घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिका चेम्जोङले दौडधूप गरिरहेका छन् ।

‘कोशी प्रदेशमा सर्वसम्मतिको प्रयास हुन्छ, मलाई लाग्छ सहमतिबाटै नेतृत्व चयन हुन्छ, अन्तिममा सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने विषय हाम्रो पार्टीमा अभ्यासकै रुपमा आएको छ, त्यही हुन्छ,’ एमाले नेता शेरधन राईले भने ।

प्रतिनिधि छनौटको अवस्था सकिएपछि अध्यक्षका आकांक्षीहरु थपघट हुनसक्ने नेताहरुको भनाई छ । 

पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् ।

उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् ।

विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभइ पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रसंशनीय रहेको कतिपय बताउँछन् ।

यस्तै उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् ।

ढकालको तुलनामा उनी कमजोर छन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै थिए ।

हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन् ।

पहिलो प्रदेशसभाको कार्यकालमा संखुवासभाबाट निर्वाचित उनी पनि सुरुमा माधव नेपाल निकट थिए ।

तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहे । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए ।

एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ पूर्वसांसद पनि हुन् । उनी लामोसमयदेखि ओली समूहमै रहँदै आएका नेता हुन् । अध्यक्षका आकांक्षीहरु प्रतिनिधि छनौट भइसकेका छन् ।