विराटनगर/ पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ ।

महासंघ मोरङको कार्यवाहक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । 

महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए ।

उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो ।

उक्त पत्र नक्कली रहेको र कार्यबहाक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ ।

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताए ।

विधान अनुसार भट्टराईलाई कार्यबाहक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उनको भनाइ छ ।