धरान/ करिब दुई दशक देखि मुद्धाकै कारण अल्झिएको धरानको निर्माणाधिन स्मार्ट बसपार्क अहिले सम्म पनि मुद्धामै अल्झिरहेको छ । 

दुई दशक अघि धरान ८ मा तीनकुने सुन्दर बस्ती विकास आयोजना शुरुवात भएको थियो ।

बसपार्क आउने भएपछि स्थानीय जग्गाधनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

तर, धेरै जग्गा काटिएको र नगरपालिकाका कर्मचारी, जग्गा व्यापारीहरुको मिलेमतोमा जग्गा किनेर बसपार्कको मुखतिर उनीहरुले जग्गा राखेको भन्दै असन्तुष्ट जग्गाधनीहरुले आन्दोलन गरेपछि लामो समय आयोजनाको काम रोकिएको थियो । जग्गाधनीहरुले रोक्काको माग गर्दै मुद्धा पर्न थाले पछि अहिले सम्म रोकिएको छ । 

स्मार्ट बसपार्कका लागि ४ वर्ष अघि तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको पहलमा संघीय सरकार र प्रदेश सरकारको बजेटले बसपार्क निर्माण प्रक्रिया अघि बढेको थियो । त्यस पछिका वर्षहरुमा स्थानीय सरकारले पहल गर्न नसक्दा संघीय बजेटको निति तथा कार्यक्रम पर्न सकेन् ।

स्थानीय सरकारकै बजेटमा निर्माण प्रक्रिया अघि बढेको थियो  । तर केही महिना यता पुनः मुद्धा पर्न थाले पछि निर्माण कार्य रोकिएको छ  । 

२०७४ मा जनप्रतिनिधिहरु निर्वाचित भएपछि तत्कालिन उपमेयर एवं न्यायिक समिति संयोजक समेत रहेकी सुवेदीको पहलमा पटक पटक छलफल गरेर असन्तुष्ट जग्गाधनीहरुसँग सहमति गरेपछि आयोजनाको काम सुचारु भएको थियो ।

तर, पुनः अहिले केही असन्तुष्ट जग्गाधनीहरु देखापरेका छन्, र उनीहरुले अन्याय भएको भन्दै अदालतमा मुद्दा दायर गरेर स्मार्ट बसपार्कको निर्माण कार्य प्रभावित पारेका छन् ।

बसपार्क विरुद्ध उच्च अदालत विराटनगरमा ६ जनाले मुद्दा दायर गरेका छन् । जसमध्ये ३ जनाको निवेदनमा अन्तरिम आदेश जारी भइसकेको छ ।

बसपार्क बनाउनको लागि आयोजनालाई जग्गा निःशुल्क उपलब्ध गराएका जग्गाधनीहरुले नै असन्तुष्ट बनेर आयोजना, उपमहानगरपालिका, वडा ८ को कार्यालय विरुद्ध मुद्दा दायर गरेका हुन् । 

सबै भन्दा पहिला मणिकुमार राई, शरणबहादुर लिम्बु लगायत ४ जनाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उनीहरुमध्ये शरणकुमार लिम्बुको हकमा अदालतले उनको जग्गा क्षेत्रमा निर्माण कार्य नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो । यो आदेशले निरन्तरता नै पाइरहेको छ । 

त्यो मुद्दाको टुंगो नलाग्दै इमानसिंह राईले गैरकानुनीरुपमा बसपार्क निर्माण भइरहेको भन्दै अर्को मुद्दा दायर गरेका थिए ।

उनी बसपार्क क्षेत्रका वा जग्गाधनी नभएपनि सार्वजनिक सरोकारको बिषय भन्दै मुद्दा दायर गरेका थिए । उनको मुद्दामा पनि भदौ १२ गते अन्तरिम आदेश जारी भएको छ । 

दुई वटा अन्तरिम आदेश जारी नै रहेको अवस्थामा गत आइतबार पुनः अर्को मुद्दामा कारण देखाउ र अन्तरिम आदेश जारी भएको छ  ।

धरान १२ घर भएका र आयोजना क्षेत्रमा पनि जग्गा भएका बालकुमार राईले आफ्नो सहमति विपरीत बसपार्क बनिरहेको भन्दै मुद्दा दायर गरेका थिए ।

उनको मुद्दामा पनि आइतबार विपक्षीहरुको नाममा कारण देखाउ र अन्तरिम आदेश जारी भएको उच्च अदालत विराटनगरको बेभसाइटमा राखिएको मुद्दाको विवरणमा उल्लेख छ । 

धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकार अबइन्द्र निरौलाले आइतबार नयाँ मुद्दाको अन्तरिम आदेशबारे भने जानकारी एवं म्याद तामेल भने भइ नसकेको बताए ।

उनका अनुसार सोमबार मणिकुमार राई, शरणकुमार लिम्बु सहित ४ जनाको मुद्दाको पेशी भएपनि हेर्न नभ्याइनेमा परेर सुनुवाई स्थगित भएको छ ।

अर्को इमानसिंह राईको मुद्दामा भने प्रतिउत्तर दर्ता गरिएको र आइतबार सम्म म्याद भएकोले सोमबार तोकिएको सुनुवाई स्थगित भएको निरौलाले जानकारी दिए  ।