सुनसरी/  डेंगु संक्रमणबाट कोशी प्रदेशमा सबै भन्दा बढी सुनसरी जिल्ला प्रभावित भएको छ । जस मध्ये धरान उपमहानगरपालिका पहिलो रहेको छ । 

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको अनुसार सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले कोशी प्रदेशमा गत साउनदेखि हाल सम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार ३ सय ३० जना सङ्क्रमित भएको बताए । उनले भने, ‘तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।’

कोशी प्रदेशको १४ जिल्लामै डेंगु फैलिएको छ । उनका अनुसार मोरङमा चार हजार २ सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार ९ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।

गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ ।

डेंगुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापा लगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हाल सम्ममा तेह्रथुममा २ सय ११, पाँचथरमा ३ सय ३८, इलाम ५ सय ३५, उदयपुर ८ सय १६, धनकुटामा ४ सय ३२, भोजपुरमा ३ सय ३१, संखवासभा ८ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, र सोलुखम्बुमा २० संक्रमित फेला परेका छन् ।

डेंगु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने लगायतका काम सहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि डेंगु सङ्क्रमितको संख्या बढ्दो क्रममा रहेको जनाएको छ ।