धरान/  एकतर्फी नियमले धरान २ स्थित देशीलाइनको व्यापार, व्यवसायलाई असर पुगेको भन्दै व्यवसायीहरुले देशीलाइन सडकमा भएको वान वे नियम हटाउन माग गरेका छन् । 

देशीलाइन व्यवसायी समितिले गत सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै एकतर्फी बाटोको निर्णय हटाउन माग गरेका हुन् ।

एकतर्फी नियम निरन्तर भइरहे व्यापार, व्यवसाय चौपट भएर पलायनको अवस्था सृर्जना हुने भन्दै उनीहरुले एक हप्ताभित्र दुईतर्फी नियम नै कार्यान्वयनमा ल्याउन पनि माग गरेका छन् ।

समितिका अध्यक्ष गंगाप्रसाद राईले विगतमा विकल्प नभएको र वान वे नियमको असर के कति पर्छ भन्ने अनुभव पनि नभएकोले विरोध नगरिएको बताए ।

अध्यक्ष राईले भने, ‘अहिले चिनिया चोक हुदै ठुला गाडीहरुलाई सदन स्कुलको बाटोबाट दक्षिणतर्फ लैजान सकिने वा माछा भौडीबाट हालै बनेको सदन रोड भएर लैजान सकिन्छ,

साना गाडीलाई भने देशीलाइनमा दुईतर्फी नै आवातजावत गर्न सकिने विकल्प पनि रहेकोले सोही अनुसार निर्णय पुनरावलोकन गर्न माग गरिएको छ ।’

ज्ञापन पत्र बुझदै मेयर साम्पाङले एकतर्फी निर्णय पुनरावलोकन नहुने बताए । उनले निर्णय फिर्ता गर्दा राम्रो नहुने साथै देशीलाईनमा एकतर्फी भएपछि दुर्घटनाको संख्यामा कमी आएको पनि बताए ।

व्यवसायीहरुलाई थोरै मार भएपनि बहुमत जनतालाई राहत मिलेको भन्दै मेयर साम्पाङले निर्णय परिवर्तन नहुने बताए ।

मेयर साम्पाङले एकतर्फी नियमको निर्णय पुनरावलोकन नहुने बताएपछि व्यवसायीहरु असन्तुष्ट भएका छन् । उनीहरुले सुनसरी उद्योग वाणिज्य संघमा पनि ज्ञापन पत्र बुझाउने र निर्णय परिवर्तन नभए सडक बन्द गरेर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।