धरान / आजदेखि  नेपालीहरुको महान चाड  विजयदशमी शुरु भएको छ ।

आज  आश्विन शुक्ल प्रतिपदा । यस दिनलाई घटस्थापना भनिन्छ । आजकैै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । घटस्थापनाका दिन बिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर अथवा पूजाकोठामा राखी जमरा उमार्न जौ छरिन्छ । जमरा राखेपछि विविधवत रुपमा दशै भित्रिएको मानिन्छ । 

घटस्थापनामा दिन राखेको जमरा टीकाको दिन प्रसादको रुपमा ग्रहण गरिने दन्तकाली मन्दिरमा पूजारी कमल भट्टराई बताउँछन् ।

उनका अनुसार यस बर्षको घटस्थापना अर्थात जमरा राख्ने साइत  बिहान ११ बजेर २९ मिनेटमा रहेको छ ।

उनले भने–‘जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।’

धेरैजसोले घर घरमा जमरा राख्ने गरे पनि विजयपुरका अधिकांश सर्वसाधारणले दन्तकाली मन्दिरमै जमरा राख्ने गरेको उनले बताए । जमरा राख्दा कलशको वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिने र  घडाको वरिपरि जौ गाडिने बताए । 

घटस्थापनादेखि नै नौरथा शुरु हुने उनले बताए । नौरथामा दन्तकाली मन्दिरमा दर्शन गर्न आउनेको अत्यन्तै भीड रहने उनले बताए । नौरथामा देवीको नौ रुपलाई पूजा गर्ने गरिएको उनले बताए ।