धरान/ बढी ब्याजको लोभमा धरान ११ को एक सुनचाँदी पसलमा रकम जम्मा गरेका स्थानीयहरुको पैसा डुबेको छ ।

धरान ११ मै संचालन रहेको नुमा स्टोरका संचालक वसन्त राइले १८ प्रतिशत सम्म ब्याज दिने भने पछि स्थानीयले करोडौ रुपैया बचत गरेका थिए ।

अहिले संचालक राई बचत रकम लिएर फरार भए पछि उनिहरुको रकम डुबेको हो । राइले बचतकर्ताको करिब ३ करोड रुपैया लिएर फरार भएका छन् । उनी कार्तिक २ गते भन्दा अघि नै फरार भएको अनुमान गरिएको छ । 

बचतकर्ताहरुले फरार राईलाई पक्राउ गरि डुबेको रकम उठाइदिन भन्दै इलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएका छन् । सुनचाँदीको कारोबार सहित पसलमा राईले मनी ट्रान्सफरको व्यवसाय पनि गर्दै आएका छन् ।

पीडित स्थानीय चन्द्रकुमारी तामाङले सयकडा १८ रुपैयाँ ब्याज दिने भनेपछि नुमा स्टोरमा ९४ लाख रुपैयाँ राखेकी थिइन ।

संचालक छिमेकी पनि भएकोले धेरै वर्ष देखी कारोबार गर्दै आएकाले रकम जम्मा गरेको उनले बताइन् ।

ब्याज बापत केही रकम दिएका सञ्चालक राई साँवा रकम फिर्ता नदिई पसल छाडेर भागेको उनको भनाई छ  ।

चन्द्रकुमारीका अनुसार उनलाई कार्तिक २ गते पैसा लिन बोलाएर पैसा नदिई त्यही दिन देखी सञ्चालक राई परिवार सहित सञ्चालक सम्पर्क विहीन भएका छन् । उनले १८ जनाबाट रकम तथा सुनका गरगहना लिएका थिए । कसैको रकम लिएर सुनको गरगहना फिर्ता नगरी फरार भएको पिडितहरुले बताएका छन् ।

स्थानीय धरान ११ का बुद्धिमान तामाङले पनि सोही मनी ट्रान्सफर पसलमा ८२ लाख रुपैयाँ राखेका थिए । रकम फिर्ता पाएका छैनन् ।

सञ्चालक राई बढी ब्याज दिने भन्दै दुर्गा देवी तामाङसँग ३१ लाख रुपैयाँ र नउमती राईबाट २५ लाख रुपैयाँ लिएका छन् ।

यस्तै धनकुमार राई, प्रेणा गुरुङ, प्रेमलाल चौधरी लगायत ८ जना भन्दा बढीसँग धितोमा राखेको सुन र उकास्न तिरेको पैसा दुवै लिएर वसन्त सम्पर्क विहीन भएका हुन ।

पीडितहरू ठगीमा परेको उजुरी दिन इलाका प्रहरी कार्यालयमा गएका थिए । प्रहरीले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएका कारण जाहेरी दर्ता नगरेको पीडित धनकुमार राईले बताए ।

प्रहरीका अनुसार सञ्चालक राईले १८ जनाबाट मात्र ३ करोड बराबर रकम लिएको देखिन्छ । तीमध्ये पनि अन्य धेरै उपभोक्ताबाट रकम लिएको हुनसक्ने प्रहरीले जनाएको छ ।