धरान/ लामो समयदेखि आन्दोलनमा चिकित्सकहरु होमिए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी आएका बिरामीहरुले सास्ती पाएका छन् ।

बुधबार बिरामीका आफन्तहरु पनि आन्दोलनमा उत्रिए पछि ओपिडि सेवा सुचारु भएको थियो । बिरामीको भिड बढे पछि झन सास्ती पाएका छन् ।

बढुवा प्रक्रिया रोकिएको विषयलाई लिएर आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षकहरुको संगठन शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण विरामीले समयमै उपचार पाउन सकेका छैनन् ।

७ बर्षदेखिको बढुवा प्रक्रिया सुचारु नभएको विषयलाई लिएर राजीनामा दिएर काममा नफर्किएका शिक्षक तथा चिकित्सकका कारण सधै विरामीको चाप हुने प्रतिष्ठानमा जुनियर चिकित्सकहरुले चेकजाँच गर्दै आएका छन् ।

जनशक्ति कम भएपछि दैनिक २ देखि ३ हजार विरामीको उपचार हुने प्रतिष्ठानमा १ सयदेखि १ सय ५० सम्म मात्र हेर्न थालिएको छ ।

चाप अत्याधिक हुँदा समेत बुधबार समयमै ओपिडीको विल ााकाउन्टर नखुलेपछि आक्रोसित विरामीहरुले बीपीको प्रशासन शाखामा गएर घेराउ गरेका थिए । उनीहरूले अस्पताल प्रशासनमा पनि पुगेर कि अस्पताल सधैको लागि बन्द गर्नुपर्ने कि उपचार सेवा दिनुपर्ने माग राखेका थिए ।

रामधुनी ७ सुनसरीकी मीना आचार्यले उपचार गराउन पटक पटक बीपी आए पनि आफू उपचार नै नगराई फर्किनुपर्ने अवस्था रहेको बताइन् ।

बुधबार भने बिल काउन्टर समेत ढिलो गरी खुलेको थियो । काउन्टर खुलेर सहज रुपमा उपचार हुने अपेक्षा लिएर उनीहरु भुइमै बसेर प्रतिक्षरत रहेको दृश्य देखिन्थ्यो । आन्दोलनका कारण आफूहरुले धेरै सास्ती भाग्नु परेको उपचारमा आएका विरामीहरुले बताएका छन् ।

अस्पताल प्रशासन पुगेका सर्वसाधारणहरुलाई प्रशासनमा जान रोक लगाएपछि सेक्युरिटी गार्डसँग केही बेर विवाद समेत भएको थियो ।

शिक्षकहरुले काम छाडेर आन्दोलन गरेपछि अहिले सबैभन्दा सास्ती विरामीले भोग्नु परेको छ ।

यहाँ नजिकबाट मात्र हैन टाढा टाढाबाट आएका विरामी उपचार नगराई फर्किर्नुपर्ने अवस्था रहेको छ । आन्दोलनका कारण उपचारमात्र हैन यहाँ नियिमत हुने विद्यार्थीको पढाई समेत हुन सकेको छैन ।