धरान/ पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भुकम्प पीडितहरुको राहतका निम्ति धरानमा राहत संकलन अभियान सञ्चालन गरिने भएको छ । 

नेकपा एमाले धरान उपमहानगर कमिटीले भुकम्प परेर जन धनको क्षति व्यहोरेर पीडित भएकाहरुको निम्ति राहत संकलन अभियान सञ्चालन गरिने भएको जनाइएको छ ।

मंगलबार एमाले धरानले प्रेस विज्ञप्ती जारी गर्दै उक्त अभियान सञ्चालन गरेर पश्चिम नेपालका भुकम्प पीडितहरुको निम्ति राहत सहयोग गर्ने पार्टी सचिव राजेन्द्र कुमार राईद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । 

विज्ञप्तीमा भनिएको छ,‘कार्तिक २१ गतेदेखि नेकपा एमालेका प्रत्येक संगठित सदस्य सहित संकलन अभियान शुरु गरेको जानकारी गराउँदछौ ।’

राहत संकलन अभियानमा सहभागि भई भुकम्प पीडितहरुको राहतको लागि आ–आफ्नो क्षेत्रबाट स्वेच्छिक सहयोग गरि दिनु हुन सवै संघ–संस्था, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, जन प्रतिनिधी, कर्मचारी लगायत आम नागरिकमा हार्दिक अपील समेत एमाले धरानले गरेको छ । 

यस अघि पार्टी केन्द्रिय कमिटीले भुकम्प पीडितको राहतको लागि एक करोड राहत रकम समेत प्रदान गरेको र थप राहतको लागि धरानमा पनि राहत संकलन गरिएको पार्टी सचिव राजेन्द्र कुमार राइद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । 

विज्ञप्तीमा भुकम्पमा परी ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतहरुको उपचारको व्यवस्था चाँडो गर्न  र घरवास विहीनहरु लागि आवास तथा खाद्यन्नको व्यवस्था समेत मिलाउनको निम्ति सरकारसँग माग समेत गरेको छ ।